जंगलमा लागेको आगोले प्रतियोगितामा असर



मेलबर्न, (एजेन्सी)।

अस्टे«लियाको जंगलमा सेप्टेम्बरदेखि लागेको आगोको कारण मेलबर्न, सिड्नीसमेत अन्य शहरको हावा प्रदूषित भएको छ।यसको असर मेलबर्नमा जारी अस्टे«लियन ओपन टेनिस प्रतियोगिताको छनोट खेलमा परेको छ। मंगलबार अभ्यास खेल रद्द गर्नुपरेको थियो, जबकि बुधबार हुने छनोट खेल धेरै ढिलो शुरू भएको थियो।

रुसकी टेनिस स्टार मारिया सारापोभा, युक्रेनकी एलिना स्विटोलिना र क्यानाडाकी यूजीनी बुशार्डसहित अन्य खेलाडीलाई श्वास लिन पनि मुश्किल भएको छ। हरेक वर्ष हुने पहिलो ग्रान्डस्लाम अस्टे«लियन ओपन पनि यही जनवरी २० देखि शुरू हुँदै छ।

एलिनाले मेलबर्नको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) स्तर शेयर गर्दै ट्वीट गरिन्– ‘हामी किन अप्रिय घटनालाई पर्खिरहेका छौं ? हामीले यसअघि नै केही कदम उठाउनुपर्छ।’ एक्यूआईको अनुसार मंगलबारको वायु प्रदूषणका लागि हुने कण पीएम २.५ को स्तर २ सय सम्म पुगेको थियो। यो स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ।

यसैगरी डालिया जाकुपोभिचले प्रदूषित हावाकै कारण अस्टे«लियन ओपन छनोट खेल छाडेकी थिइन्। उनले टाउको दुखेको र श्वास फेर्न समस्या भएको बताएकी थिइन्। यस्तै बुशार्डले पनि छाती दुखेपछि छनोट खेल परित्याग गरेकी थिइन्।

अस्टे«लियन ओपन सबैभन्दा बढी आगो फैलिएको स्थान विक्टोरियाको राजधानी मेलबर्नमा हुँदै छ। प्रतियोगिता दौरान स्टेडियममा सुरक्षाका लागि मौसम विज्ञ र हावा मापन गर्ने विशेषज्ञ रहने जनाएको छ। प्रतियोगितामा रोजर फेडेरर, सेरेना विलियम्स, राफाल नाडाल, नोभाक जोकोभिच, नाओमी ओसाका जस्ता शीर्ष खेलाडीले सहभागिता जनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्