भव्यताकासाथ माघी मिलन कार्यक्रम मनाईयो



विष्णु तिमिल्सिना, बर्दिया ।

हिन्दुहरुको पवित्र चाडको रुपमा मानिने मकरसंक्रान्तिलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउने सन्दर्भमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. २ अन्तरगत नारायणपुर (हस्नापुर) मा माघी मिलन कार्यक्रम भव्यताका साथ मनाईएको छ ।

वडा नं. २ र ३, प्रगती बचत तथा ऋण सहकारी संस्था (साकोस) र प्लान नेपालको संयुक्त आयोजनामा गरिएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै प्रदेश सभा सदस्य तिलकराम शर्माले थारु समुदायको पुरानो संस्कृतिलाई जोगाउन माघी पर्वले महत्वपुर्ण स्थान राख्दछ, आफ्नो संस्कृतिलाई जोगाउन हामी सवैको अहंम् भुमिका रहनुपर्छ र अहिले प्रदेशमा पनि यस विषयलाई महत्व दिईएको कुरा बताउनु भयो ।

वडा नं. २ का वडा अध्यक्ष खुशीराम चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा बारबर्दिया नगर–पालिकाका प्रमुख दुर्गा बहादुर थारु (कविर), वडा नं. ३ का वडाध्यक्ष सुर्य थारु, प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव अभिलाल शर्मा लगायतका वक्ताहरुले माघी पर्वको महत्वको बारेमा आ–आफ्नो धारणा राख्नुहुँदै आफ्नो जातिय संस्कृति र परम्परालाई जर्गेना गर्न हामी सवै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा थारु समुदायको पहिरनमा हुर्दुङवा, सखिया लगायतका विभिन्न नृत्यहरु प्रस्तुत गरेर उपस्थित सहभागिहरुलाई मनोरन्जन प्रदान गरिएको थियो । साथै थारु जातिको प्रचलित ढिक्रि लगायतका परिकारहरु अतिथि तथा सहभागितलाई खाने व्यवस्थासमेत गरिएको थियो ।

पहिले व्यक्तिगत तथा सामुहिक रुपले मनाउने गरिएको माघी पर्व विगत केही वर्ष देखि सरकारी तथा गैरसरकारी संस्था र सहकारी संस्थाहरुको समेत सहभागितामा संस्थागत रुपले मनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्