योग गरौँ स्वस्थ रहौँः कट्टेल



कृष्णप्रसाद अधिकारी, दैलेख ।

राष्ट्रिय योग दिवस मुल समारोह समितिको आयोजनामा दैलेख सदरमुकाममा पाँचौ राष्ट्रिय योग दिवस मनाईएको छ । ‘राष्ट्रिय एकताः योगको सान्र्दभिकता’ भन्ने नारा सहित योग दिवस मनाईएको हो । सरस्वती बृद्धाआश्रममा आयोजित कार्यक्रममा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भएको बताउँदै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैलाई योग गरेर स्वस्थ रहन सन्देश दिएका छन् । शरिरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि हरेक व्यक्तिले योग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कट्टेलको जोड छ । सरस्वती बृद्धाआश्रमको भवनमा योग अभ्यास र अभिमुखीकरण पश्चात टोली ब्यानर र स्वदेशगान सहित बेलासपुर आयुर्वेद औषधालय खुर्सानिबारीमा आयोजित कार्यक्रममा पुगेको थियो ।

योग भवन बनाउन ५० लाख
दैलेख सदरमुकामको स्थानीय गणेश चोकमा योग भवन निर्माणका लागि नारायण नगरपालिकाले ५० लाख बिनियोजन गरिसकेको छ । विलासपुर आर्युवेद औषधालय खुर्सानीबारीद्धारा आयोजित समारोहमा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले बजेट बिनियोजन भएको जानकारी दिइन् । जिल्लामा आर्र्युवेद औषधी वा अन्य प्रयोजनका लागि जडिबुटी संकलन केन्द्र स्थापना गर्ने बताउँदै उपप्रमुख मल्लले विलासपुर आर्युवेद औषधालयका लागि आगामी आर्थिक बर्षमा दुई लाख रुपैयाँ बिनियोजन गर्ने प्रतिबद्धता जनाइन् । ‘औषधालयको विकास र प्रर्वद्धनमा सक्दो सहयोग गर्छौ,’ उनले भनिन् ।

सोहि अबसरमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले योग जीवन दर्शन भएकोले अपरिहार्य रहेको बताए । योग अभ्यास र आर्युवेदको उपयोगीताबारे प्रस्ट्याउँदै प्रमुख जिल्ला अधिकारी कट्टेलले हरेक व्यक्तिले सकारात्मक सोच राख्न आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता मणिराम रेग्मी, नारायण नगरपालिका–३ का कार्यवहाक वडाध्यक्ष हर्कबहादुर नेपाली, विलासपुर आयुर्वेद औषधालयका वैद्य राजीव भारती र योग प्रशिक्षक शंकर थापाले राष्ट्रिय योग दिवस र आयुर्वेदिक औषधिको महत्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्