गण्डकी प्रदेशका महिला उद्यमी र कृषकलाई निःशुल्क स्टल



न्युज अफ नेपाल, पर्वत ।
देशभर मेला र महोत्सबको लहर चलिरहेको छ । हरेक जिल्ला र शहरमा महोत्सबहरु भैरहेका छन । तर पर्वतको कुस्माबजारमा हुने पर्वत महोत्सबमा गण्डकी प्रदेशका उद्यमी र कृषकलाई निःशुल्क स्टल उपलब्ध गराउने भएको छ ।

पर्वत उद्योग बाणिज्य संघले माघ ९ देखि १९ गते सम्म आयोजना गर्ने छैठौ पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक ब्यापार मेलामा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ ।

गण्डकी प्रदेश भित्रका महिला उद्यमी र कृषकहरुको उत्पादनलाई प्रर्बद्धन गर्नका लागि निशुल्क स्टल उपलब्ध गराइएको महोत्सबका आर्थिक संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले बताउनुभयो । ‘यो सुबिधा गण्डकी प्रदेश भित्रका महिला उद्यमी र कृषकले पाउनेछन’ उहाँले भन्नुभयो ‘महिला उद्यमी र कृषकले आफ्ना उत्पादन ल्याउने र निशुल्क स्टल भएकाले बिक्री गरि मुनाफा कमाउनका लागि राम्रो अवसर सृजना गरिदिएका छौ।’

गण्डकी प्रदेश भित्रका हरेक जिल्लामा साना उद्यमी महिलाहरुले स्थानिय कच्चा पर्दाथबाट तयार पारेका सामाग्री देखि कच्चा पर्दाथ ल्याएर घरमै बनाएका सामाग्रीहरु बिक्री नहुने समस्या झेल्दै आएका छन । अल्लोबाट बुनेका कपडा, सुन्तला तथा बेलबाट बनेका जुस, उनीका झोला, कपडाहरु, साबुन देखि धेरै सामाग्रीहरुको बजार प्रर्बद्धन र प्रत्यक्ष फाइला लिन सकिने ठाउँको रुपमा महोत्सबलाई अघि सारिएको मुल आयोजक समितिका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । गण्डकी प्रदेश भित्रका कृषकले उत्पादन गरेका सुन्तला, मह, माछा देखि तरकारी र अन्य उत्पादन पनि निशुल्क रुपमा बिक्री गर्न स्टल उपलब्ध गराइने छ । महिला उद्यमी र कृषकलाई १५, १५ वटाका दरमा स्टल उपलब्ध छन ।

गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयको सिफारिसमा स्टल उपलब्ध गराइने अध्यक्ष शर्माले जानकारी दिनुभयो । ‘महोत्सब नाफा मात्रै कमाउने थलोको रुपमा होइन स्थानिय उत्पादलाई प्रोत्साहन गर्ने पनि हाम्रो निती हो’ उहाँले भन्नुभयो ‘यसरी निशुल्क स्टल उपलब्ध गराउने परम्परा पहिलो हो’ अघिल्ला महोत्सबहरुमा कृषक र महिला उद्यमीहरुलाई बढीमा ४,५ वटा मात्रै स्टल उपलब्ध हुँदै आएका थिए ।

महोत्सबमा झण्डै २ सय स्टल रहनेछन । स्टल बुकिङ्गको काम भैरहेको आयोजकले बताएका छन । यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ । महोत्सबमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो ।

महोत्सब आउन एक हप्ता बाँकी रहेको अबस्थामा सवैजसो तयारीहरु अन्तिम चरणमा पुगेको जानकारी आयोजकले दिएका छन । महोत्सव निर्माण स्थल वडागाउँ खेलमैदानको निर्माण कार्य सकिएको छ । पर्वत उद्योग बाणिज्य संघको विशेष पहलमा लामो समयदेखि अलपत्र बनेको खेलमैदान तथा महोत्सव स्थलको निर्माणकार्य पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्