इतिहासमै पहिलोपल्ट इक्यानको कार्यसमिति सर्वसम्मत चयन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को इतिहासमा पहिलोपटक सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको छ । इक्यानको गत शनिबार राजधानीमा सम्पन्न १४ औं वार्षिक साधारणभाबाट प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिले सोमबार कार्यभार सम्हालेको छ ।

नयाँ कार्यसमितिको पहिलो बैठकमा नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने इक्यान सदस्य, पत्रकारहरु, निर्वाचन समितिकका संयोजक तथा सदस्यहरु, इक्यानका कर्मचारीलगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यसमितिको पहिलो बैठकले साधारणसभाले पारित गरेका सुझावसहित सर्वसम्मतीबाट आएका वार्षिक तथा आर्थिक कार्ययोजनाहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

साथै बैठकले संघका शाखा अध्यक्षज्यूहरुले पूर्णरुपमा निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेलले प्रस्तुत गर्नुभएको शाखा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि प्रस्ताव र आइडीपी आईईएलटीएससँग सहकार्य नगर्ने सम्बन्धि प्रस्तावलाई साधारणसभाले संकल्प प्रस्तावको रुपमा सर्वसम्मत पारित गरेकोमा शाखा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गर्ने र आईडीपी आईईएलटीएससँग सहकार्य नगर्ने विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

कार्यसमितिलाई पूर्णता दिने विषयमा अध्यक्ष पाण्डेले संघको सदस्य रहेको कम्पनी मिसन डक्टर प्रालिका प्रबन्ध सञ्चालक पुष्पराज भट्टराईलाई कार्यसमितिको सदस्य पदमा मनोनित गर्नुभयो । साथै संघको केन्द्रीय कार्यालयलाई ६ महिनाभित्र स्थानान्तरण गरी व्यवस्थित गर्ने निर्णय समेत भएको छ ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले वर्तमान समयमा शैक्षिक परामर्श दातृ संस्था सञ्चालनका लागि नीतिगत रुपमा अझै राज्य स्पष्ट नभइसकेकाले नीतिगत सुधारका लागि आफ्नो पहिलो दायित्व रहेको बताउनु भयो । । सरकारको अस्पष्ट नीतिले गर्दा शिक्षामन्त्रालयमा १ हजार ४ सय ७३ वटा शैक्षिक परामर्श दातृ संस्थाले अनुमति पाएको तर अझै ७ सयभन्दा बढी संस्थाहरु अनुमतिको पर्खाइमा रहेको बताउनु भयो ।
उहाँले सरकारले नीतिगतरुपमा दर्ता र नविकरणको बाटो बन्द गरेको भन्दै उहाँले उक्त समस्या समाधान गर्ने अग्रसरता देखाउने बताउनु भयो ।

‘सरकारले गत वर्षको भदौ १ गतेदेखि शैक्षिक परामर्श दार्त संस्थाको दर्ता प्रक्रिया रोकेको छ, जसले गर्दा अनुमतिका लागि प्रक्रिया अगाडि बढाएका संस्थाले अनुमति पाएका छैनन भने यसबीच हजारौं संस्थाहरु आउने वातावरण नै सरकारले रोकेको छ, त्यसैले यस विषयमा राज्यसँग पहल गरी शैक्षिक परामर्श दातृ संस्थामैत्री नीति ल्याउनु जरुरी रहेको उहाको भनाई थियो ।

दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनु भएका पाण्डेले अबको बाटो राज्यसँग नीतिगत सुधारका कार्यक्रमलाई अगाडि बढाउँदै यस क्षेत्रमा अभिभावकीय जिम्मेवारी बोकेको इक्यानलाई डिप्लोम्याटिक मिसनसँग पनि सम्बन्ध सुधार गर्दैै अगाडि बढ्नु पर्ने आवश्यक रहेको बताउनुभयो ।

सरकारले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुसँग २ प्रतिशत कर लिने तर विद्यार्थीलाई विदेशमा गाह्रो अप्ठ्यारो हुँदा सरकारले भूमिका बिर्सने गरेको भन्दै विद्यार्थीले तिरेको रकमबाट कोष स्थापना गर्नुपर्ने आवश्यकता औलाउँदै त्यसतर्फ अग्रसर हुन सरकारलाई आग्रह समेत गर्नु भएको छ ।

‘विगतका दिनदेखि नै इक्यानले यस व्यवसायलाई अगाडि बढाउन, कानूनी दायरामा ल्याउन र स्वस्थ प्रतिष्पर्धामा व्यवसाय सञ्चालन गराउनका लागि अग्रणी भूमिका खेलेको सबैलाई विधितै भएको बताउँदै अध्यक्ष पाण्डेले शिक्षा नीति व्यवसायीका लागि मात्रै नभइ, विद्यार्र्थी र अभिभावकको पक्षमा समेत बनाउनु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा समग्र शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउँदै, स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउँदै नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँले इक्यानका सदस्य संस्थाहरुलाई विभिन्न प्रकारका तालिम दिनुका साथै उनीहरुको क्षमता विकासका लागि काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

अध्यक्ष पाण्डेको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा देविदास भट्टराई, द्वितिय उपाध्यक्षमा शेषराज भट्टराई र तृतिय उपाध्यक्षमा कृष्णहरि केसी चयन हुनु भएको छ । साथै महासचिवमा दीपकराज भुसाल चयन हुनु भएको छ । प्रथम सचिवमा बासुदेव दाहाल र द्वितिय सचिवमा बीके श्रेष्ठ चयन हुनु भएको छ । कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सह कोषाध्यक्षमा कर्ण गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्