आर्मी रोकिँदा मछिन्द्रलाई फाइदा



नेपाल समाचारपत्र, काठमाडौं। 
जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिँदा मछिन्द्र क्लबलाई फाइदा भएको छ। मंगलबार दशरथ रंगशालामा भएको छैठौं चरणको अन्तिम खेलमा आर्मीले संकटा क्लबसँग १–१ बराबरी खेलेको हो।

विभागीय टोलीले एक गोलको अग्रता बचाउन नसक्दा संकटासँग अंक बाँड्नु पर्यो। योसँगै आर्मीले मछिन्द्रमाथि २ अंकको अग्रता लिएर शीर्षस्थान हात पार्ने मौकासमेत गुमायो। यो नतिजापछि छ्रैठौं चरणसम्मको खेल समाप्त हुँदा मछिन्द्र र आर्मी समान १३ अंक जोडेका छन्। गोलभिन्नतामा अगाडि हुँदै मछिन्द्र शीर्षस्थानमा रहेको छ।

त्यस्तै मनाङ–मस्र्याङ्दी क्लब १२ अंकसहित तेस्रो स्थानमा र १० अंक जोडेको थ्रीस्टार क्लब चांैथो स्थानमा रहेका छन्। खेलमा आर्मीले २९औं मिनेटमा नवयुग श्रेष्ठको गोलमार्फत् १–० को अग्रता लिएको थियो। बायाँ विंगबाट टेकबहादुर बुढाथोकीले गरेको भली पासमा नवयुगले गोलपोस्ट नजिकबाट हेड गर्दै गोल गरेका थिए।
दोस्रो हाफ भने आर्मीको लागि निकै निरासजनक रह्यो। ५३औं मिनेटमा सन्तोष तामाङ दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए। उनले संकटाका लक्ष्मण रुचाललाई फाउल गरेका थिए। १० खेलाडिमा सीमित भएलगतै सुमन अर्यालले डिबक्समा ह्याण्ड गर्दा संकटाले आर्मीविरुद्ध पेनाल्टी हान्ने मौका पाएका थिए।
संकटाको तर्फबाट अमित तामाङले ५५औं मिनेटमा पेनाल्टी किकलाई गोलमा परिणत गरेर खेल १–१ बराबरीमा पुर्याए। अमितले आर्मीका गोलकिपर विकेश कुथुको विपरित दिशामा बल प्रहार गरेका थिए। साग विजेता गोलकिपर कुथुले अमितको प्रहारलाई रोक्ने कुनै मौका नै पाएनन्।
यसैगरी ८१औं मिनेटमा भेटेरान खेलाडी भरत खवास नवयुगको स्थानमा मैदानमै आए। तर आउने वित्तिकै उनी घाइते हुन पुगेका थिए। उनलाई उपचार गर्न एम्बुलेन्ससमेत मैदानमा पुगेको थियो। तर उनी केही बेर पछि ठिक भएर खेल्न थालेका थिए।््
गोलकर्ता (२ गोलदेखि)
५ गोल – सन्तोष साहुखल (च्यासल)
३ गोल –  नवयुग श्रेष्ठ (आर्मी), सोमिडे एडेलाजा (मछिन्द्र), आशिष लामा (एपीएफ), सुमन लामा(पुलिस), बिमल राना(मनाङ)
२ गोल – लक्ष्मण रुचाल (संकटा), रोशन रानामगर (बीबीसी), सरोज तामाङ (एनआरटी), अनन्त तामाङ (थ्रीस्टार), जुनियर अन्ग्वेन (एनआरटी), मार्टिन्स अजायी(संकटा), डाडी वाम्बा (जावलाखेल), अमित तामाङ (संकटा), दर्शन गुरुङ (एनआरटी)

प्रतिक्रिया दिनुहोस्