पदक विजेता बक्सर सम्मानित



काठमाडौं, (नेस)।

एक्स बक्सर ग्रुप मकाउले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङतर्फ पदक जित्ने खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ।

नेपाल बक्सिङ संघले आयोजना गरेको कार्यक्रममा स्वर्णपदक विजेता मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहीले समान २०–२० हजार नगद पुरस्कार प्राप्त गरे। रजत पदक जितेका ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दवाडीले जनही १५ हजार नगद पुरस्कार हात पारे।

कांस्य पदक प्राप्त सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापालाई जनही १० हजार नगद पुरस्कार प्रदान गरियो।

पूर्व बक्सर सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका अध्यक्ष मानबहादुर भण्डारीले मकाउमा रहेका पूर्व बक्सर मानबहादुर श्रेष्ठमार्फत पुरस्कारका लागि पहल गरेका हुन्।

एक्स बक्सर ग्रुप मकाउले विगत १७ वर्षदेखि खेलाडीलाई सम्मान, खेलाडीको उपचारलगायतका कार्यमा सहयोग गर्दै आइरहेको संघका अध्यक्ष भण्डारीले जानकारी गराए।

सोही अवसरमा नेपाल बक्सिङ संघले पनि सागमा पदकविहीन खेलाडी दीपक श्रेष्ठ, प्रशिक्षक, निर्णायक र व्यवस्थापकलाई सम्मान गरेको थियो।

दीपक श्रेष्ठ १० हजार तथा प्रशिक्षकहरू प्रकाश थापा मगर, एलिसेर राखिमुभ, प्रवीण तुलाधर, दम्बर दत्त भट्ट, किशोर लिम्बू, दीपक महर्जन र सुरेश मल्ललाई जनही ५ हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गरियो।

प्रतिक्रिया दिनुहोस्