बुद्धचित्त र रुद्राक्षसहित ३ जना पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरबाट बुद्धचित्त र रुद्राक्षसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादब, काभ्रे साविक तिमाल गाविस वडा–२ बस्ने ४२ वर्षीय जगत् लामातामाङ र सोही गाविस–६ बस्ने ४२ वर्षीय सूर्यमान तामाङ रहेका छन् ।

उनीहरुलाई मनहरी गाउँपालिका–७, मनहरी बजारस्थित पूर्वपश्चिम सडकखण्डमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको हो ।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बर भारतीय कार चेक गर्दा कारभित्र बोरा र झोलामा लुकाइछिपाइ ल्याइएको बुद्धचित्त माला १ हजार ७ सय ७० थान र रुद्राक्षको माला १ सय ४४ थान फेला परेको हो ।

उनीहरुलाई आइतबार दिउँसो करिब पौने १ बजे पक्राउ गरिएको थियो । गाडी, बुद्धचित्त माला र रुद्राक्षसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्