मेयरले शाक्यले गरे १० वडाको अनुगमन



नेपाल समाचारपत्र, काठमाडौँ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमनलाई निरन्तरता दिनु भएको छ। मेयर शाक्यले बुधबार वडा नम्बर १० का विभिन्न स्थानको स्थलगत अनुगमन गर्नुभएको हो।

आफु निवार्चित भएर आएपछिका अढाई वर्षमा वडामा भए–गरेका विकास निर्माण र कामको प्रत्यक्ष जानकारी लिन अनुगमन थालेको मेयर शाक्यको बताउनुभयो।

मेयर शाक्यले वडा १० का वडाध्यक्ष रामकुमार केसी, वडा सदस्यहरू सतिस तण्डुकार, सुनिता भित्रकोटी, रोहिनी श्रेष्ठलगायतको टोलीसहित बुद्धनगर, नयाँ बानेश्वर, गंगादेवी मन्दिर, सहभागिता मार्ग, पुजा–प्रतिष्ठान मार्ग, युएन पार्क आसपासको क्षेत्रलगायतका स्थानको निरीक्षण गर्नुभयो।

‘भएका कामको अवलोकनसँगै गर्न बाँकी कामको कार्ययोजना बनाएर योजनाबद्ध रुपमा अघि बढ्नका लागि मैले प्रत्येक वडाको निरिक्षण थालेको हुँ,’ बुद्धनगरमा स्थानीयसँग भेटिनु भएका मेयर शाक्यले भन्नुभयो– ‘एकीकृत विकास हुनुपर्छ भनेर हामी लागेका छौँ। जनताको चाहना पनि त्यहि छ।

तर, कतिपय ठाउँमा मेलम्ची खानेपानी, सडक विभागलगायतले खन्ने–पुर्ने काम गर्दा समस्या भएको छ।’ उहाँले खाल्टाखुल्टी, पुर्ने, सहायक बाटाहरू भत्किएको ठाउँमा तत्काल मर्मत गर्न लगाउने जस्ता निर्देशन पनि निरिक्षणका क्रममा दिने गरेको बताउनुभयो।

बुटवल हाइड्रो पावर नजिकैको चारतले घर नजिकै थुपारिएको फोहोरको डंगुर देखाउँदै मेयर शाक्यले भन्नुभयो– ‘यति ठूलो घर बनाउने घरधनीले बाटो पनि हाम्रो हो भन्ने हेक्का राख्ने हो र जनप्रतिनिधिको मात्र मुख नताक्ने हो भने सरह निकै सफा हुने थियो।’

मेयर शाक्यले वडा नम्बर–१० लाई यो आर्थिक वर्षमा मात्रै तीन करोड विनियोजन गरेको भन्दै अझै थप एक करोड ५० लाख दिने भएकाले बजेट नभएर काम भएन भन्ने सुन्नु नपरोस भन्नुभयो। ‘अब सडक वरीपरीका पेटीहरू महानगरपालिकाले नै मर्मत गर्ने तयारी भएको छ,’ उहाँले भन्नुभयो–‘बजेट जति चाहिन्छ माग्नुहोस् तर जन अपेक्षा अनुसार काम गर्ने कुरामा कमजोरी नहोस्।

निरिक्षणकै क्रममा मेयर शाक्यले बुद्धनगर आधार विद्यालय निर्माणको कामलाई छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो। वडा सदस्य तण्डुकारले सो विद्यालयमा गरिब, सुकुम्वासी, घरेलु श्रम गर्नेका बाल–बच्चा अध्ययन गर्ने भएकाले सो विद्यालयको शिक्षामा पनि ध्यान दिने बताउनुभयो।

मेयर शाक्यले सिद्धेश्वर महादेव मन्दिर नजिकैका दुई ओटा घरले सडक नै मिचेर संरचना बनाएपछि तत्काल हटाउन वडा सदस्यलाई निर्देशन दिनुभयो भने वडा सदस्य तण्डुकारले पनि नगर प्रहरी लगाएर तत्काल हटाउन लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

अनुगमनकै क्रममा युएन पार्क नजिक भेटिनुभएका पवित्र उपभोक्ता समाजका अध्यक्ष अच्युतराज ज्ञवालीले मेयर शाक्यसहितको टोलीलाई आफ्नै घर–दैलोमा देख्न पाउँदा खुशी लागेको बताउनुभयो।

‘जनप्रतिनिधि निर्वाचनपछि अर्को निर्वाचनका बेलामा मात्रै देखिन्छन्। तर, मेयरज्यु यसरी मतदाताको घरदैलोमा विकास निर्माणका कामबारे जानकारी लिन आउनु खुशीको कुरा हो,’ उहाँले भन्नुभयो– ‘यो नयाँ बस्ती हो। ललितपुर र काठमाडौँको सिमानामा छौँ।

कालापानीको जनता जस्तै भएका छौँ। मेयरज्यू आएर यहाँ भएको विकासबारे जानकारी लिनुभयो। आशा गरौँ धेरै कुरा समाधान हुनेछन्।’

निरीक्षणकै क्रममा मेयर शाक्य बडा कार्यालय पनि पुग्नु भएको थियो। वडा कार्यालयमा काम गरिरहेका कर्मचारीहरूसँग पनि उहाँले केहीबेर कुराकानी गर्नुभएको थियो।

काम गर्ने सिलसिलामा परेका अप्ठ्याराका बारेमा वडा सदस्य र अध्यक्षसँग खुलेर कुराकानी गर्न आग्रह गर्दै सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न उहाँले निर्देशन दिनुभयो। वडा सदस्य तण्डुकारले वडा–१० मा करीब १ सय ३२ रोपनी सार्वजनिक जग्गा रहेको भनिए पनि अहिले १२–१५ रोपनी मात्र पत्ता लागेको भन्दै सबै सार्वजनिक जग्गा खोज्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्