रंगशालालाई हेटौंडाको ३० लाख



नेपाल समाचारपत्र, हेटौंडा।

हेटौंडा उपमहानगरपालिकाले धुर्मुश–सन्तुली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण जारी राखेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपियाँ सहयोग गर्ने भएको छ।

चितवन पुगेर उपमहानगर मेयर हरिबहादुर महतले निर्माणाधीन रंगशाला अवलोकनपछि रंगशाला निर्माणका लागि ३० लाख सहयोगको घोषणा गर्नुभएको हो।

धुर्मुश–सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुन लागेकोले स्थानीय सरकारको हैसियतले सहयोग गर्न लागिएको मेयर महतले बताउनुभयो।

रंगशाला निर्माण हुँदा हेटौंडाले पनि फाइदा लिने भएकोले सहयोग गर्न लागिएको उहाँको भनाइ छ। देशविदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाएर निर्माण हुने रंगशालाको लागत ३ अर्ब अनुमान छ।

दुई वर्षभित्र निर्माण सक्ने गरी २०७५ माघ १६ गते अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिएको थियो।चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा बन विश्वविद्यालय परिसरको शान्तिचोकमा रहेको २० बिघा ८ कठ्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुबिधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१६ को उक्त जग्गा कृषि तथा बनविश्वविद्यालयले भोगचलन गरिरहेको थियो। क्रिकेट रंगशाला बनाउने भएपछि त्रिभुवन विश्वविद्यालयले भरपुर महानगरपालिकाको माध्यमबाट फाउन्डेसनलाई उपलब्ध गराएको थियो।

मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ। जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीलाई स्वागत गर्नेछ। विश्वस्तरीय प्यारापिटमा बसेर खेल हेर्न सकिनेछ।

रंगशालामा चार ढोका हुनेछन्। १ सय ३५ मिटर व्यासमा बन्ने रंगशालामा देशविदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लवीको व्यबस्था हुनेछ। ठाउँठाउँमा हुने एलईडी स्क्रिनबाट खेललाई नजिकबाट नियाल्न सहयोग पुग्नेछ।

स्पेशल फ्लडलाइट जडान गरिएको मैदानमा दिन र रातको फरक हुनेछैन। नेपालमा हुने विश्वस्तरीय खेल नेपालबाट प्रत्यक्ष प्रसारणका उत्कृष्ट मिडिया सेन्टर स्थापना हुनेछ।

प्रतिक्रिया दिनुहोस्