उपाधी त्रिवेणीको पोल्टामा



शिक्षा पन्त, लमजुङ ।

लमजुङको बेंसीसहरमा आयोजित २८औं राष्ट्रब्यापी त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधी आयोजक त्रिवेणी युवा क्लवले हात पारेको छ। सहजी खेल मैदानमा आईतबार भएको फाइनल खेलमा श्री भगवती क्लव टोखा काठमाण्डौलाई १–० ले हराउँदै त्रिवेणीले उपाधि जितेको हो।

योसँगैं विजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरे। त्यस्तै सेमिफाइनलमा पराजित दुई टोली सामना युवा क्लव तुरतुरे तनहुँ र समाजकल्याण युवा क्लव काठमाण्डौलाई नगद ५०/५० हजार रुपैयाँ प्रदान गरिएको थियो।

प्रतियोगितामा त्रिवेणीका पासाङ लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए भने भोटेवडार युथ क्लवका सन्दीप रानामगरले सर्वाधिक सावित भएका थिए। उनीहरूलाई नगद १५/१५ हजार प्रदान गरियो।

अन्य विधातर्फ भगवतीका अनिल तामाङ डिफेन्डरमा र युवाराज ढकाल मिडफिल्डरमा उत्कृष्ट घोषित भए। त्रिवेणीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर बनेका थिए। श्री जङ गण फेयर प्ले टिम घोषित भएको थियो। प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ को उपाधि त्रिवेणीका जाजाले पाएका छन्।

प्रतिक्रिया दिनुहोस्