पदक विजेता खेलाडीलाई विद्यालयद्वारा सम्मान



प्रताप बानियाँ, म्याग्दी ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक विजेता खेलाडीलाई माउण्ट एभरेष्ट आवासीय मावि बेनीले सम्मान गरेको छ । विद्यालयमा एक समारोहको आयोजना गरी साग प्रतियोगितामा पदक विजेतालाई सम्मान गरिएको हो ।

म्याग्दी जिल्ला स्थायी घरभई खेलकुद विधा अन्तर्गत विभिन्न खेलमा सहभागी भएर पदक जित्ने म्याग्देली खेलाडीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । भलिबल प्रतियोगितामा रजतपदक विजेताद्वय महिला भलिबल टिमका कप्तान अरुणा शाही र कमला पुन, उसु प्रतियोगितामा रजतपदक विजेता विन्दु पुनमगर र भारोत्तोलनमा कास्यपदक विजेता तारादेवी पुनलाई नगदसहित दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको छ ।

रघुगंगा गाउँपालिका–३, राखुपिप्लेकी शाही, मंगला–२, बाबियाचौरकी पुन र मालिका–३, रुमकी कमलालाई विद्यालयको सञ्चालक समिति अध्यक्ष चन्द्रकुमार केसी, सञ्चालक सुविन श्रेष्ठ, रमेश गिरी र शैक्षिक निर्देशक राजु केसीले सम्मान गरेका थिए । खेलाडीलाई सम्मान गर्दै अध्यक्ष केसीले बाँकी दिनमा पनि खेल क्षेत्रमै लाग्न आग्रह गरेका छन् । उनले भावी पुस्तालाई समेत खेल क्षेत्रप्रति आकर्षित गर्न खेलाडीलाई आग्रहसहित व्यक्ति जुन क्षेत्रमा आबद्ध छ, त्यसैमा राम्रो गर्दै अगाडि बढ्नुपर्ने बताए ।

सम्मानित खेलाडी अरुणा शाही र विद्यालयका सञ्चालक तथा आपूर्ति निर्देशक सुविन श्रेष्ठले मन्तव्य राखेको कार्यक्रम कक्षा १० का छात्रा आयुस्मा सुवेदीको स्वागत तथा कक्षा ९ का विद्यार्थीद्वय रिट्रोना बानियाँ र प्रमोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो । सम्मान कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षकहरु तथा विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्