एपीएफलाई जितको स्वाद



काठमाडौं, (नेस)।

विभागिय टोली नेपाल एपीएफ क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। एपीएफले चौथो चरणको खेलमा आएर जितको स्वाद चाखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफले सरस्वती युथ क्लबलाई २–१ ले हराएको थियो।

टोलीको जितमा आशिष लामाले दुबै गोल गरेका थिए। सरस्वतीको तर्फबाट विनोद केसीले गोल फर्काएका थिए। यो नतिजासँगैं एपीएफले ४ खेलमा १ जित र १ बराबरी गरी ४ अंक जोडेको छ। टोली १०औं स्थानमा रहेको छ। यस्तै सरस्वती भने चारै खेल हारेर जारी लिगमा सबैभन्दा कमजोर टोली सावित भएको छ।

टोलीले ९ गोल खाएर विपक्षीविरुद्ध १ गोल मात्रै प्रहार गरेको छ। आशिषले ६३औं मिनेटमा रिबाउन्ड बललाई गोलमा परिणत गरेर एपीएफलाई अग्रता दिलाएका थिए।

प्रवीण स्याङतानले वान भर्सेस वानमा प्रहार गरेको बललाई सरस्वतीका गोलकिपर प्रदीप भण्डारीले बचाए। तर बल रिबाउन्ड हुँदा आशिषले मौकैमा गोल गरेका थिए।

८६औं मिनेटमा सरस्वती बराबरी गर्न चुकेको थियो। मनिष घलेको प्रहार पोलमा ठोक्किएको थियो। इन्जुरी समयमा आशीषले एपीएफका लागि गोल थपेका थिए।

यद्दपि यसको लगतै विनोदले सरस्वतीको तर्फबाट गोल गरे। तर समय सकिँदा एपीएफले जित प्राप्त गर्न सफल भयो। विनोद जारी लिगमा सरस्वतीको तर्फबाट गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

 

प्रतिक्रिया दिनुहोस्