गाउँघरमा लोकप्रिय ‘लुकुनी’



चिरञ्जीवी मास्के, दोलखा।

आधुनिक लत्ताकपडाबाट विस्थापित बन्दै गएको लुकुनी, राडीपाखी, भाङ्ग्राजस्ता घरेलु उत्पादन गाउँघरमा भने अझै लोकप्रिय छन्। विगत ३० वर्षदेखि लुकुनी, राडीपाखी र भाङ्ग्राका कपडाको व्यवसाय गर्दै आउनुभएका श्यामकाजी गुरुङले जनजातिको वस्ती भएको गाउँघरमा यो घरेलु उत्पादन अझै पनि लोकप्रिय रहेको बताउनुभयो।

भेडा र खरायोको उनबाट बन्ने लुकुनी तथा राडिपाखी बुन्ने दोलखाकै करिबकरिब एक्लो वृहस्पति बनेका श्यामकाजी आफ्नो सीप अरुलाई हस्तान्तरण गर्न खोज्दासमेत चासो दिने मानिस नभेटेको गुनासो गर्नुहुन्छ।

दोलखाको केही ठाँउ र रामेछापमा घरेलु कार्यालयले सञ्चालन गरेको तालिममा लुकुनी तथा राडीपाखी बुन्न सिकाएको भए पनि तालिमका सहभागीले आफूले जानेको सीपलाई व्यवसायका रुपमा अगाडि बढाएको नदेखिएको श्यामकाजीको भनाइ छ।

६१ वर्षको उमेरमा समेत उत्साहका साथ लुकुनी र राडीपाखीको व्यवसायमा निरन्तर लागिरहेका श्यामकाजी महिनामा ४०/५० वटा लुकुनी तथा राडीपाखी तयार गरेर बिक्रीका लागि गाउँगाउँमा पुग्नुहुन्छ। ‘म एक महिनासम्म घरमा बसेर लुकुनी तथा राडीपाखी बुन्छु अनि एक महिना गाउँगाउँमा पुगेर त्यसलाई बिक्री गर्छु।’ –श्यामकाजी भन्नुभयो।

विभिन्न अवसरमा चरिकोट, जिरी, सिंगटी, मैनापोखरीजस्ता बजार क्षेत्रमा समेत यसको व्यापार हुने उहाँको भनाइ छ। दोलखाको गौरीशङ्कर, मार्वु, चंखु र सुरी काप्तीबाट भेडा तथा खरायोको उन ल्याएर धर्मपत्नी दलुमाया र आफूले लुकुनी, राडीपाखी तथा भाङ्ग्राको अन्य कपडाहरू तयार गर्ने श्यामकाजी बताउनुहुन्छ।

भेडा र खरायोको उनबाट उत्पादित कपडाहरू गुरुङ, तामाङ, थामी, जिरेल, सुनुवार, शेर्पा जातिका मानिसले बढी मात्रामा प्रयोग गर्ने र केहीकेही अन्य जातिका मानिसले समेत प्रयोग गर्ने श्यामकाजीको भनाइ छ।

आफूले तयार गरेको लुकुनी एउटाको भेडाको ऊनको भए ५ हजार र खरायोको ऊनको भए ६ हजार पर्ने श्यामकाजीले बताउनुभयो। त्यसैगरी राडीपाखी दुईपाटे भए एउटाको तीन हजार, तीनपाटे भए चार हजार र चारपाटे भए ५ हजार पर्ने श्यामकाजी बताउनुहुन्छ। श्यामकाजीले लुकुनी र राडीपाखीको व्यवसायबाट वर्षमा तीनचार लाख रुपियाँसम्म कमाइ गर्दै आउनुभएको छ।

गौरीशङ्कर गाउँपालिकाको सुरी काप्ती स्थाई घर भएका श्यामकाजी २५ वर्ष अघि व्यवसायकै क्रममा चरिकोट आइपुग्नुभएको थियो। लुकुनी र राडीपाखीको व्यवसायबाटै श्यामकाजीले चरिकोटमा घर बनाएर चार जना छोराछोरीको लालनपालन र पढाइ पनि सकेका छन्।

यो व्यवसायबाट राम्रैसँग गुजारा पनि चलेको र परम्परागत सीपको संरक्षणसमेत भएकाले आफू सन्तुष्ट नै रहेको श्यामकाजी बताउनुहुन्छ। अहिले एक छोरी र तीन छोरा सबै आ–आफ्नो बाटो लागिसकेको उहाँको भनाइ छ। घरमा अहिले आफू र धर्मपत्नी दलुमाया मात्र रहेको श्यामकाजीले बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्