सिटीजन्स बैंक टेनिस प्रदीप र शिभाली च्याम्पियन


काठमाडौं ।

प्रदीप खड्का र शिभाली गुरुङ १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार क्रमशः पुरुष र महिला सिंगल्स्मा च्याम्पियन बनेका छन् । दुवै विजेताले पहिलो सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई २–६, ६–३ र ६–४ को सेटमा पराजित गरेका थिए । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ३–६, ६–३ र ६–१ को सेटमा हराइन् ।

नेपाल टेनिस संघको सहयोगमा भएको प्रतियोगितामा जम्मा १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष डबल्समा प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी, ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री, ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र छेवाङ लामाको जोडी, ४५ वर्षमाथि पुरुष सिंगल्समा देव क्षेत्री, ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र महेश श्रेष्ठको जोडी पहिलो भएका थिए ।

त्यस्तै ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र सोभितमान श्रेष्ठको जोडी, ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा, ६५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपको जोडी तथा ७० वर्षमाथि पुरुष सिंगल्समा धीरबहादुर गुरुङ च्याम्पियन बनेका थिए ।

विभिन्न १२ स्पर्धामा १ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सबै स्पर्धाका पदक विजेतालाई आयोजकको तर्फबाट कुल ५ लाख ६८ हजार ७ सय ५० रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसबाहेक सिटिजन्स बैंकले पुरुष÷महिला सिंगल्सका विजेता र उपविजेतालाई छुट्टै कुल १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार उपलब्ध गराएको थियो ।