
नेपाली प्रेरणादायी साहित्यको क्षेत्रमा पछिल्लो समय चर्चामा आएको कृति कर्मपथले पाठकबीच सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । ‘कर्म नै जीवनको आधार हो र कर्मपथ नै जीवनको मार्ग हो’ भन्ने गहिरो दर्शन बोकेको यस पुस्तकले जीवनप्रतिको दृष्टिकोण परिवर्तन गर्ने सशक्त सन्देश प्रस्तुत गरेको छ ।
लेखक सत्यराज जोशीको अध्ययन, अनुसन्धान, अनुभव र जीवन भोगाइको समिश्रणबाट तयार भएको यो कृति केवल पढ्नका लागि मात्र नभई जीवन जिउन सिकाउने मार्गदर्शकका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।
आधुनिक समयको व्यस्तता, प्रतिस्पर्धा र अनिश्चितताबीच मानिसहरू आफ्नो वास्तविक उद्देश्यबाट टाढा हुँदै गइरहेका छन् । शिक्षाले ज्ञान त दिन्छ, तर जीवनबोध गराउन प्रायः असफल देखिन्छ ।
यही सन्दर्भमा कर्मपथ ले ‘म को हुँ?’, ‘मेरो जीवनको लक्ष्य के हो?’, ‘म किन यहाँ छु ?’ जस्ता गहिरा प्रश्नहरूलाई केन्द्रमा राख्दै पाठकलाई आत्मचिन्तनतर्फ उन्मुख गराउँछ । पुस्तकले अज्ञानताको अन्धकार हटाएर चेतनाको उज्यालोमा जीवनलाई बुझ्न प्रेरित गर्छ ।
पुस्तकको सबैभन्दा सबल पक्ष यसको सरल, स्पष्ट र प्रेरणादायी भाषा शैली हो । लेखकले जटिल जीवनदर्शनलाई पनि सहज ढंगले प्रस्तुत गरेका छन्, जसले गर्दा जुनसुकै उमेर समूहका पाठकले सजिलै आत्मसात् गर्न सक्छन् । पुस्तक पढ्दै जाँदा पाठकले आफ्नै जीवनका घटनाहरू, संघर्षहरू र सम्भावनाहरूलाई नयाँ दृष्टिले हेर्न प्रेरणा पाउँछ ।
कर्मपथले जीवनका विभिन्न आयामहरूलाई समेट्दै कर्मको महत्त्वलाई केन्द्रमा राखेको छ । लक्ष्य निर्धारणमा कर्मको भूमिका, जिम्मेवारीप्रतिको उत्तरदायित्व, संघर्षमा धैर्य र साहस, असफलताबाट सिक्ने क्षमता, आत्मविश्वासको विकास तथा अन्योलमा स्पष्टताजस्ता विषयहरूलाई सशक्तरूपमा उठाइएको छ । पुस्तकले स्पष्ट सन्देश दिन्छ– सफलता कुनै संयोग होइन, निरन्तर सत्कर्मको परिणाम हो ।
समाजमा व्याप्त नकारात्मक सोच, निराशा र अन्योललाई चिर्ने प्रयासका रूपमा पनि यस पुस्तकलाई लिन सकिन्छ । लेखकले जीवनमा आउने चुनौतीहरूलाई अवसरका रूपमा लिनुपर्ने सन्देश दिएका छन् । कठिन परिस्थितिमा पनि आशा नछोडी अघि बढ्ने साहस, आत्मबल र दृढ इच्छाशक्तिको विकास गर्न पुस्तकले विशेष जोड दिएको छ ।
पुस्तकको अर्को महत्वपूर्ण पक्ष यसको सर्वव्यापकता हो । कर्मपथ कुनै विशेष वर्ग वा उमेर समूहका लागि मात्र सीमित छैन । विद्यालय तहका विद्यार्थीहरूदेखि युवा, शिक्षक, अभिभावक तथा विभिन्न पेसामा संलग्न व्यक्तिहरूसम्म सबैका लागि यो समानरूपमा उपयोगी देखिन्छ । विशेष गरी क्याम्पसका विद्यार्थीहरू, जो आफ्नो भविष्यको मार्ग तय गर्ने चरणमा हुन्छन्, उनीहरूका लागि यो पुस्तक एक प्रभावकारी मार्गदर्शक बन्न सक्छ ।
लेखकले जीवनलाई जति छिटो बुझ्न सकिन्छ, त्यति नै जीवन सहज र सफल बन्ने सन्देश दिएका छन् । यसले पाठकलाई समयमै सही निर्णय लिन, आफ्नो क्षमता पहिचान गर्न र लक्ष्यप्रति केन्द्रित हुन प्रेरित गर्छ । पुस्तकले आत्मविश्वास, आत्मअनुशासन र सकारात्मक सोचको विकासमा विशेष योगदान पु¥याउने देखिन्छ ।
कर्मपथलाई केवल प्रेरणादायी पुस्तकको रूपमा मात्र नभई जीवनबोधको पाठशाला भन्न सकिन्छ । आजको युगमा जहाँ मानिसहरू बाह्य सफलताको पछाडि दौडिरहेका छन्, त्यहाँ यो पुस्तकले आन्तरिक सन्तुलन, आत्मशान्ति र वास्तविक सुखको खोजी गर्न सिकाउँछ । यसले पाठकलाई आफ्नो जीवनप्रति जिम्मेवार बन्न र सत्कर्ममार्फत उज्यालो भविष्य निर्माण गर्न प्रेरित गर्छ ।
पुस्तकले ‘जीवनबोध’ को अवधारणालाई विशेषरूपमा जोड दिएको छ । जीवनबोधविना सफलता अधुरो हुन्छ भन्ने सन्देश यस कृतिमा स्पष्टरूपमा अभिव्यक्त भएको छ । यही कारणले कर्मपथलाई केवल एक पुस्तक नभई जीवनको सहयात्रीका रूपमा लिन सकिन्छ ।
समग्रमा, कर्मपथ नेपाली प्रेरणादायी साहित्यमा एक महत्वपूर्ण योगदान हो । यसको सन्देश, शैली र उद्देश्यले यसलाई विशिष्ट बनाएको छ । प्रेरणादायी पुस्तकहरूको भीडमा पनि कर्मपथ आफ्नो मौलिकता र प्रभावकारिताका कारण अलग पहिचान बनाउन सफल भएको छ ।
अन्ततः जीवनमा सही दिशा खोजिरहेका जो–कोहीका लागि कर्मपथ एक उपयुक्त मार्गदर्शक कृति हो । यसले पाठकलाई केवल सोच्न मात्र होइन, कर्ममार्फत जीवन परिवर्तन गर्न प्रेरित गर्छ । यस्तो अर्थपूर्ण र जीवनोपयोगी कृतिको आवश्यकता आजको समाजमा झन् बढी महसुस भइरहेको सन्दर्भमा कर्मपथको महत्त्व अझ बढेको छ ।











प्रतिक्रिया