नेपाल समाचारपत्र, काठमाडौं।
सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल यूथ क्लबसँग च्यासल युथ क्लब पराजित भएको छ।
योसंगै जारी लिगमा जावलाखेलले दोस्रो जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जावलाखेलले २–० गोलअन्तरको जित निकालेको हो। जावलखेलले दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै जित आत्मसात गरेको हो।
खेलको ८१ औं मिनेटमा जावलाखेलले खेलमा अग्रता लिन सफल भयो। च्यासलको कमजोरीको फाइदा उठाउँदै रुपबहादुर लामाले गोल गर्न सफल भए। त्यसको एक मिनेटपछि नै जावलाखेलले दोस्रो गोल गर्यो।
यसपटक पनि च्यासलको कमजोर डिफेन्सलाई बिट गर्दै जावलाखेलका बिजय घलानले गोल गरे। त्यसपछि ८६औं फेरी जावलाखेलले अग्रता तेब्बर पार्ने अर्को सुन्दर मौका चुकाएका थिए।
स्ट्राइकर सन्तोष साहुखलको भने लिगमा एक सयौ गोल गर्ने कसरत यसपटक पनि सफल भएन। उनले खेलमा धेरै पटक गोल गर्ने मौका पाए पनि चुकेका थिए।
खेलको ३७ औं मिनेटमा सन्तोष साहुखलले डि–बक्समा पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेनन्। त्यसपछि ७१ औं मिनेटमा च्यासलको अर्को प्रहार फ्रेममा पर्न सकेन।
साहुखलले डि–बक्स नजिकैबाट गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरियो। योसंगै अब इतिहास बनाउन उनले अर्को खेल कुर्नुपर्ने भएको छ। यता जितसँगै जावलाखेल भने चार खेलबाट ८ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ।
सयौं खेलमा ब्रिगेड ब्याइज बिजयी
सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार भएको अर्को खेलमा ब्रिगेड ब्वाईज क्लबले लिगको सयौं खेलमा जित निकालेको छ।
ब्वाईजले हिमालयन शेर्पा क्लबलाइ १–० गोलअन्तरले हराएर सयौं खेलमा जित हासिल गर्न सफल भयो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेडलाई जिताउन विजय गुरूङको एक मात्र गोल निर्णायक बन्यो।
उनले खेलको १७ औं मिनेटमा गरेको गोल नै ब्रिगेडलाई जिताउन पर्याप्त बन्यो। डि–बक्स बाहिरबाट गरेको उनको प्रहार सोझै गोलमा परिणत हुँदा शेर्पाका गोलकिपर जिल्लिएका थिए। यो जितपछि ब्रिगेडको लिगमा ६ अंक भएको छ। शेर्पा भने २ अंकका साथ ११ औं स्थानमा रहेको छ।
तस्वीर ः उजोल डंगोल











प्रतिक्रिया