लन्डन, (एजेन्सी)।
फ्रेन्च खेलाडी करिम बेन्जेमा सन् २०२२ सम्म स्पेनिस क्लब रियल मेड्रिडमा नै बस्ने भएका छन्। ३२ वर्षे बेन्जेमाले रियलसँग थप १ वर्ष सम्झौता नवीकरण गरेसँगै उनी २०२१ को अन्त्यसम्म रियलमा नै बस्ने पक्का भएको हो। यसअघि उनको सम्झौता २०२१ को अन्त्यसम्म रहेको थियो।
बेन्जेमालाई यसै सिजन लन्डन क्लब आर्सेनलले अनुबन्ध गर्ने प्रयास गरेको थियो। तर, उनले जनवरी ट्रान्सफर अघि नै रियलसँग थप १ वर्षको सम्झौता अवधि लम्ब्याएको हो।
यो सिजन नै रियलमा बेन्जेमाको अन्तिम समय रहने बताउदै आएपनि उनको सम्झौता थप भएको हो।बेन्जेमा २००९ मा फ्रेन्च क्लब लियोनबाट रियलमा आएका थिए। सुरुमा ६ वर्ष सम्झौता गरी उनी रियल पुगेका हुन्।
तर अहिले रियलले बेन्जेमालाई २०२२ सम्म क्लबमा आबद्ध गरेको छ। रियलमा उनी ५ सयांै म्याचको आँकडा नजिक छन्। उनले रियलका लागि २ सय ३८ गोल गरेका छन्। सन् २०१८ मा पोर्चुगीज स्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि बेन्जेमाले रियलको अग्रपंक्तिको बागडोर सम्हाल्दै आएका छन्।
पछिल्लो समय खराब लयबाट गुज्रिरहेको बेन्जेमाले आफ्नो प्रदर्शनलाई सुधार गरिरहेका छन्। यो सिजन उनले २३ खेलमा १६ गोल गर्न सफल भएका छन्।
ला लिगामा डेपोर्टिभो ला कोरुनाविरुद्ध डेब्यू गरेका बेन्जेमाले रियललाई १७ उपाधि दिलाइसकेका छन्। जसमा चार च्याम्पियन्स लिग, चार क्लब वल्र्ड कप, तीन युइएफए सुपर कप, दुई स्पेनिस ला लिगा, दुई कोपा डेल रे र दुई स्पेनिस सुपर कप छन्।











प्रतिक्रिया