हुन त सभ्यता, यसको विकासक्रमका बारेमा लामो बहस हुनसक्छ। तर यो तथ्य हो कि गण्डकी सभ्यता कैयौं वर्ष पुरानो सभ्यता हो। विश्वमा सभ्यताको विकास नदीहरूबाटै भएको इतिहास छ। चाहे रोमको सभ्यता होस् या यथेन्स, पेरिस, होस् वा अरू सभ्यताहरू।
ती नदी र यस आसपासबाटै विकास र परिस्कृत हुँदै आएको अध्ययनहरूबाट प्रतीत हुन्छ। दामोदर कुण्ड उद्गम भएर बगेको कालीगण्डकी होस् या मुक्तिनाथ मन्दिर परिसरबाट बगेको श्रीकृष्ण नदी मिलेर काली बनेको किन नहोस्, यो मूल नदीमा सहायक नदीहरू रघुगंगा, म्याग्दी, सेती, मादी, आँधीखोला, बडिगाड, दरौंदी, चेपे, मस्र्याङ्दी, बूढीगण्डकी, त्रिशूलीजस्ता नदीहरू मिसिएर गण्डकी हुँदै नारायणी बनेको छ।
जुन दामोदर कुण्ड, मुक्तिनाथ, देवघाट, गजेन्द्रमोक्ष हुँदै त्रिवेणी धामको वाल्मीकिको आश्रमको तटसम्मै गण्डकी नामले भारतीय उपमहाद्वीपसम्म पनि प्रसिद्ध छ।
यो गण्डक या गण्डकी सभ्यताका बारेमा बुझाइमा केही समस्या र अन्यौलता पनि देखिन्छ, भेटिन्छ। गण्डकी सभ्यतामा नदीकिनारका पर्यटकीय स्थल, आसपासका बस्ती, बजार, घाट, धार्मिक, सांस्कृतिक परम्परा, तीर्थस्थल, यहाँको जीवन पद्धति, मूल्य मान्यतालाई उल्लेख गरिएको छ।
साथै सभ्यताभित्र धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य विषय पनि समावेश छन्। दामोदरकुण्डबाट शुरु भई बग्ने कालीगण्डकी नदी शालग्रामका लागि प्रसिद्ध छ। यो शालग्राम विश्वमा अन्त कतै पाइँदैन। मुख्य पौराणिक र धार्मिक ग्रन्थको अध्ययन गर्दा पनि पद्मपुराणको पाताल खण्डको विष्णु अध्यायमा गण्डकी शालग्राम महात्म्यको वर्णन छ।
स्कन्ध पुराणको वैष्णव खण्डमा जय–विजयले गण्डकी नदीमा स्नान गरेर मुक्ति पाएको उल्लेख छ। श्रीमद्भागवतमा पनि गण्डकी नदी शालग्राम शिला, पुलस्त्य, पुलाश्रम, रघुगणको संवाद उल्लेख छ।
यसले के दर्शाउँछ भने, मानव सभ्यताको विकासक्रममा गण्डक सभ्यता एउटा अपरिहार्य विषय बनेर जोडिएको छ। तर, पछिल्लो समय गण्डकी सभ्यता लोप हुने खतरामा छ। मानवीय लापरबाहीका कारण गण्डकी सभ्यता संकटमा छ।
कालिगण्डकी नदीको दोहन, भौतिक संरचना, ढल र फोहोर विसर्जनको विकल्प, शालग्राम शिलाको चोरी निकासी तथा नक्कली शालग्रामको कारोबार अहिले ठूलो समस्याका रुपमा देखिएको छ। गण्डकी सभ्यता लोप हुने अवस्था आउनु दुर्भाग्यको विषय हो।
हामी धार्मिक स्थल, मठमन्दिर खोजी–खोजी हिँड्छौं, दर्शन गर्छौं, ढोग्छौं। तर त्यसरी दर्शन, पूजा गरेर घर पुगेपछि या यात्राका क्रममा पनि गण्डकी सभ्यतामा चुनौती खडा हुने गरी फोहोरको ढल नदीमा मिसाउँछौं। फोहोरको अन्तिम विसर्जन गर्ने उपयुक्त विकल्पको रुपमा अपनाउँछौं।
प्रत्यक्ष–परोक्ष नदी दोहन, शालग्राम चोरी निकासी गर्छौं या यसबारे मुूकदर्शक बनेर हेर्छौैं। यो गण्डकी सभ्यता हाम्रो जीवन दर्शनसँग जोडिएको बारे हामी बेखबरजस्ता भएका छौं।
अहिले ढिलै भए पनि अभियान शुरु भएको छ। गण्डकी सभ्यता जोगाउने विषय साझा सरोकार बन्नुपर्छ। हामी सबैले यसमा दायित्वबोध गर्न जरुरी छ।
– सागर खड्का, हरिचोक, पोखरा।











प्रतिक्रिया