साइक्लिङमा काठमाडौंको वर्चश्व



हेटौंडा, (नेस)।

हेटौंडामा पहिलोपटक आयोजित साइक्लिङ अफरोड च्याम्पियनसिपमा काठमाडौंका साइक्लिस्टले शीर्ष तीन स्थान हात पार्दै वर्चश्व बनाएका छन्। च्याम्पियनसिपमा बुद्धिबहादुर तामाङले उपाधि जित्दा सुरज रानामगर दोस्रो र लक्ष्मण मल्ल तेस्रो स्थानमा रहेका हुन्।

योसँगै तामाङले ५० हजार नगद पुरस्कार प्राप्त गरे। त्यस्तै रानामगरले ३० हजार र लक्ष्मण मल्लले २० हजार नगद पुरस्कार हासिल गरेका थिए। हेटौंडा राइडर्स क्लबको आयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा ४ महिलासहित ४१ जनाले सहभागिता जनाएका थिए।

कार्यक्रमको अवसरमा महिला सहभागीलाई साइकल हेल्मेट प्रदान गरी हौसला बढाइएको थियो। च्याम्पियनसिपमा ४० वर्ष उमेरमाथिका राइडर्समध्ये हेटौंडाका राजु गुप्तालाई हौसलास्वरुप पुरस्कार २० हजारबराबरको साइकल प्रदान गरिएको थियो।

भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप आयोजना गरी मकवानपुरगढी परिक्रमापछि टोली हेटौंडा फर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्