म्यानचेस्टर युनाइटेड विजयी



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। युनाइटेडले बर्नलीलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो। टर्फ मोर बर्नलीमा शनिबार राति भएको खेलमा पहिलो र दोस्रो हाफमा समान एक –एक गोल सम्भव भएको थियो।

खेलको शुरुआतदेखि नै घरेलु टोलीलाई दबाबमा राखे पनि युनाइटेडले गोलका लागि पहिलो हाफको अन्तिम समय कुर्नुपरेको थियो। खेलको ४४औं मिनेटमा एन्ड्रियस पेरेराको पासमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

त्यस्तै खेलको अन्त्यमा थपिएको इन्ज्युरी समयको पाँचौं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए। जितसँगै युनाइटेडले २० खेलबाट ३१ अंक जोड्दा बर्नलीको २४ अंक रहेको छ।

त्यस्तै लेस्टर सिटीले पनि वेस्टह्याम युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्दा टोटनह्याम हट्सपर भने नर्विच सिटीसँग बराबरीमा रोकियो। लेस्टरले वेस्टह्याममाथि उसैको मैदानमा २–१ को संघर्षपूर्ण जित निकालेको हो।

लेस्टरको जितमा केलिची इहिनाचो र देमाराई ग्रेले गोल गरेका थिए। घरेलु टोली लेस्टरका पाब्लो फोर्नल्सले एक गोल फर्काए। खेलको १२औं मिनेटमा लेस्टरका देराराई ग्रे पेनाल्टीमा चुक्दा लेस्टरले खेलमा अग्रता लिनबाट चुकेको थियो।

केलिचीलाई वेस्टह्यामका गोलरक्षक लुकास फावियन्स्कीले बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा देराराईले सदुपयोग गर्न सकेनन्। उनको पेनाल्टी प्रहार फावियन्स्कीले बचाए। ४०औं मिनेटमा केलिचीले एयोजी पेरेजको पासमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाए।

४५औं मिनेटमा घरेलु टोलीका पाब्लो फोर्नल्सले बराबरी गोल फर्काए। ५६औं मिनेटमा देराराईले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल निस्कन नसक्दा लेस्टर २–१ ले विजयी हुन सफल भयो। जितसँगै लेस्टरको २० खेलबाट ४२ अंक पुगेको छ।

वेस्टह्यामको भने १९ खेलबाट १९ अंक रहेको छ। अर्काे खेलमा टोटेनह्यामले नर्विच सिटीसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडे। टोटेनह्यामले खेलमा दुई पटकपछि परे पनि खेललाई बराबरीमा ल्याउन सफल भएको हो। बराबरीसँगै टोटेनह्यामले २० खेलबाट ३० अंक जोड्दा नर्विच १३ अंक जोडेर पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्