न्यु डायमन्ड भलिबलमा पुरस्कार राशि बढ्यो



काठमाडौं, (नेस)।

न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा तेस्रो न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा पुरस्कार राशि बढेको छ।पुस २३ गतेदेखि हुने प्रतियोगिताका विजेता र उपविजेता टोलीका लागि १/१ लाख बढाएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।

प्रतियोगिताका संयोजक कुमार राईले जनाएअनुसार यसपटक विजेता हुने टोलीले ४ लाख १ सय १ रुपियाँ पाउनेछ। त्यस्तै दोस्रो हुने टोलीले ३ लाख १ सय १ रुपियाँ प्राप्त गर्नेछ। यसैगरी तेस्रो हुने टोलीका लागि ५० हजार बढाएर १ लाख ५१ हजार १ सय १ रुपियाँ प्रदान गरिनेछ।

चौथो हुने टोलीलाई भने ५० हजार नगद दिइनेछ। प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता रहने आयोजक क्लबकी अध्यक्ष सुनकेशरी मालीले जानकारी गराइन्। प्रतियोगितालाई यसपटक पनि होङगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गर्नेछ।

गत वर्ष पनि होङगान्जी नै प्रतियोगिताको मुख्य प्रायोजक थियो। गत वर्ष ५ लाख प्रायोजन गरेको होङगान्जीले तेस्रो संस्करणमा भने १० लाख बढाएर १५ लाख प्रायोजन गर्ने भएको छ।

होङगान्जीका उपाध्यक्ष कुमार श्रेष्ठले न्यु डायमन्डको भलिबल प्रतिको लगाव देखेरै प्रतियोगितालाई सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने प्रतिबद्धता जनाए।

यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपियाँ प्रदान गरिनेछ। व्यक्तिगत विधाको उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई जनही ७ हजार १ सय १ रुपियाँ नगदबाट पुरस्कृत गरिनेछ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २६ लाख रुपियाँ खर्च हुनेछ। चारदिने प्रतियोगिताका खेलहरू नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्