अनन्तको गोलमा थ्रीस्टार विजयी



नेपाल समाचारपत्र, काठमाडौं।

थ्रीस्टार क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत् शनिबार भएको खेलमा जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले नेपाल एपीएफ क्लबलाई १–० ले हराउँदा अनन्त तामाङले निर्णायक गोल गरेका हुन् । खेलको १५औं मिनेटमा अनन्तले हेडमार्फत् गोल गर्न सफल भएका थिए ।

करिब २५ यार्डबाट मिक्छेन तामाङले गरेको फ्रिकिक प्रहारमा अनन्तले हेड टच दिएका थिए । यसपछि बाँकी समय दुबै टोलीबाट गोल नहुँदा ललितपुरे टोलीलाई ३ अंक प्राप्त हुँदा एपीएफले दोस्रो हार बेहोर्नु परेको छ ।

योसँगैं लिगको तेस्रो चरणको खेल पनि समाप्त भएका छन् । तेस्रो चरणसम्मको नतिजामा मनाङ मस्र्याङदी क्लब ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । जारी लिगमा शत प्रतिशत नतिजा निकाल्नेमा मनाङ एक्लो टोली हो । दोस्रो स्थानमा ७ अंकका साथ थ्रीस्टार रहेको छ । थ्रीस्टारले जितेपछि ६ अंक जोडेको मछिन्द्र क्लब दोस्रोबाट तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्