पीपीएलको  उपाधि चितवनलाई



विजय नेपाली, पोखरा ।

चितवन राइनोजले दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको उपाधि शनिबार जितेको छ ।पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा विराटनगर टाइटान्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि हात पारेको हो । विजेता टोली चितवनले २७ लाख नगद र उपविजेतामा चित्त बुझाएको विराटनगरले १० लाख रुपैयाँ हासिल गरे ।

टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रनको बलियो योगफल तयार पारेको थियो । जवाफमा विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षेतिमा १ सय ७० रन जोडेको थियो । पहिलो संस्करणमा पोखरा पल्टनसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको चितवनले दोस्रो संस्करणमा आएर नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

निकै उत्कृष्ट खेल प्रदर्शन गरेको चितवनले लिग चरणमा सबै खेल जित्दै फाइनल प्रवेश गरेको थियो । चितवनको जितका लागि रोहन मुस्ताफा र अनिलकुमार शाहले उत्कृष्ट ब्याटिङ प्रस्तुत गरे । पारस खड्का २५ रन र बाबर हायत ५ रन बनाएर आउट भएपछि यी दुई ब्याटसम्यानले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए ।

१६औं ओभरमा पुनित मेहराको बलमा आउट भएका अनिल र रोहनले ५०/५० रनको योगदान दिएका थिए । अनिल पहिलो बलमा र रोहन चौथो बलमा आउट भएका थिए । यतिबेलासम्म टोली ४ विकेटका लागि १ सय ४२ रनको स्थितिमा थियो । यसपछि करण केसीले २६ रन, आरिफ शेख १९ रन र सन्नी पटेल १६ रन बनाउँदा चितवनले २ सय रन पार गर्न सकेको थियो ।

बलिङतर्फ पुनित र मोहम्मद जाइद आलमले समान २/२ विकेट लिँदा किशोर महतोको नाममा १ विकेट परेको थियो । विराटनगरको ब्याटिङमा भने मोहम्मद जाइद आलमलले ५७ रनको अर्धशतकयि इनिङ खेले पनि जित दिलाउन सकेनन् ।

कप्तान प्रदीपसिंह ऐरीले ३६ रन र पुनीतले ३२ रन बनाएर जित्न कोसिस गरेका थिए । यसपछि कोही खेलाडी पनि टिक्न नसक्दा चितवनले बाजी मारेको थियो । चितवनको बलिङ तर्फ करण केसीले सर्वा्धिक ३ विकेट लिए । सन्नी पटेल र रोहन मुस्ताफाको नाममा समान १ विकेट रहे ।

पुरस्कार रकम

 

विजेता चितवन राइनोज २७ लाख
उपविजेता बिराटनगर टाइटान्स १० लाख
मोस्ट भ्यालुबल खेलाडी लोकेश बम (बिराटनगर) १ लाख
उदीयमान खेलाडी अनिल खरेल (धनगढी) ५० हजार
प्लेयर अफ द फाइनल रोहन मुस्तफा (चितवन)

टीभीएस मोटरसाइल विजेता

उत्कृष्ट ब्याटसम्यान ज्ञानेन्द्र मल्ल (काठमाडौं)

उत्कृष्ट बलर करण केसी (चितवन)
प्लेयर अफ द टुर्नामेन्ट रोहन मुस्तफा (चितवन)

प्रतिक्रिया दिनुहोस्