अस्ट्रेलियन ओपनमा पुरस्कार वृद्धि



लन्डन, (एजेन्सी)।

अंग्रेजी क्यालेन्डर अनुसार वर्षकै पहिलो ग्रान्डस्लामबाट परिचित अस्ट्रेलियन ओपन टेनिसको पुरस्कार राशीमा बृद्धि गरिएको छ।हरेक जनवरी महिनामा हुने यस प्रतियोगिताको आगामी संस्करणबाट आयोजकले कुल पुरस्कार राशीमा १४ प्रतिशत रकम बढाएको छ।

जसअनुसार अबदेखि नयाँ च्याम्पियनले दुई दशमलव २१ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ। आयोजकले नयाँ संस्करणमा ७१ मिलियन अस्ट्रेलियन डलर अर्थात् ३८ दशमलव एक मिलियन अमेरीकी डलर पुरस्कार दिने जनाएको हो।

जसअन्तर्गत प्रतियोगिताको पहिलो चरणबाट नै बाहिरिने खेलाडीले गत संस्करणको भन्दा २० प्रतिशत रकम बढी पाउनेछन्। मेलर्बनमा जनवरी २० तारिखबाट शुरु हुने प्रतियोगिताका डाइरेक्टर क्रेग टेलीले यसपटकबाट प्रतियोगिताको स्तरमा पनि फरक गरिने बताए।

क्वालिफायर्स राउन्डको पनि पहिलो चरणबाट बाहिरिने खेलाडीले १० हजार डलर पाउनेछन। त्यस्तै मुख्य ‘ड्र’ को पहिलो चरणबाट बाहिरिने खेलाडीले ४८ हजार अमेरिकी डलर भन्दा बढी पाउनेछन्।

अस्ट्रेलियन ओपनको १ सय १४ वर्षको इतिहासमा पुरुष एकलतर्फ नोभाक जोकोभिचले सर्वाधिक सात पटक र महिला एकलतर्फ मार्गारेट कोर्टले सर्वाधिक ११ पटक उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्