विराटनगर टाइटान्स फाइनलमा



विजय नेपाली, पोखरा।
विराटनगर टाइटान्स जारी दोस्रो संस्करणको पोखरा प्रीमियर लिग (पीपीएल) टि २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको प्लेअफ खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो। १ सय ६६ रनको लक्ष्य पाएको बुटवल १ सय ४४ रनमा समेटिएको थियो। यसअघि लिग खेलमा पनि विराटनगरले बुटवललाई हराएर प्लेअफमा स्थान बनाएको थियो।

जितसँगै विराटनगरले गत संस्करणको उपविजेता चितवन राइनोजसँग उपाधीको लागी प्रतिस्पर्धा गर्ने तयसमेत गरेको छ। चितवनले लिगका पाँचै खेल जितेर फाइनल पुगेको थियो। डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन भने लिग चरणबाटै बाहिरिएको थियो।

बुटवलको ब्याटिङमा भिम सार्की सर्वाधिक ४४ रनको योगदान दिएका थिए। भीमले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर अफ्ताबुद्दिन अहमदले ४३ रन बनाएका थिए।

अहमदले विस्फोटक ब्याटिङ गर्ने क्रममा २२ बलमा ६ चौका र २ छक्का प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। विराटनगरका बलरमा पुनीत मेहरा र साहब आलमले ३÷३ विकेट हात पारेका थिए। आलम प्लेयर अफ द म्याच घोषित भएका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६५ रनको बलियो योगफल जोडेको थियो। टोलीका लागि ओपनर सुनिल धमलाले अर्धसतकीय पारी खेले। उनले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए।

त्यस्तै कप्तान प्रदीप सिंह ऐरीले विस्फोटक ब्याटिङ गरे। उनले १३ बलमा ४ छक्का र १ चौकाको सहयोगमा ३३ रनको योगदान दिएका थिए।

यसैगरी विराटनगरका लागि अर्का ओपनर मुहम्मद जहिद आलमले २० रन जोडेका थिए। अन्यमा लोकेश बम र पुनित मेहरा १९/१९ रन बनाएका थिए। बुटवलका बलरमा हर्ष टंकले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्