विराटनगरको जितले काठमाडौं बाहिरियो



नेपाल समाचारपत्र, पोखरा।

जारी दोस्रो संस्करणको पोखरा प्रीमियर लिग (पीपीएल) मा विराटनगर टाइटान्सले जित हात पार्दा काठमाडौं गोल्डेन्स वारियर्स लिग चरणबाटै बाहिरिएको छ।बुधबार लिगको अन्तिम खेलमा दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले विराटनगरलाई १ सय ३४ रनको लक्ष्य दिएको थियो। विराटनगरले ६ विकेटको क्षतिमा १ सय ३६ रन बनाएर ११.४ ओभरमै लक्ष्य पार गरेको थियो।

टोलीका लागि नोमन खानले सर्वाधिक ३५ रन बनाए भने पुनित मेहराले ३२ रनको योगदान दिएका थिए। ओपनर ब्याट्सम्यान लोकेश बमले १३ रन र अर्का ओपनर कप्तान प्रदिप सिंह ऐरी ५ रनमै पवेलियन फर्केका थिए। बुटवलका लागि नितेश थापाले २ विकेट लिएका थिए।

त्यस्तै अभिनाश बोहोरा, कमल खत्री र हर्ष टंकले समान १/१ विकेट लिए। बुटवलको ब्याटिङमा हर्ष टकले सर्वाधिक ६७ रनको योगदान दिएका थिए। उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए। त्यस्तै शिवम् सिंहले २७ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३७ रन जोडेका थिए।

टोलीका ओपनर अफ्ताबुद्दिन अहमेद पहिलो बलमै पभेलियन फर्किए भने अर्का ओपनर शंकर राना २ रनमै आउट भएका थिए। त्यस्तै कप्तान प्रदिप सिंह पनि छिट्टै आउट भएका थिए।

विराटनगरका बलरमा मुहम्मद जहिद अलमले ४ ओभरमा ४ विकेट लिएका थिए। त्यस्तै किशोर महतोले २ तथा दिपेश श्रेष्ठ, साहव अलमले समान १/१ विकेट लिए।

यो जितले विराटनगरले काठमाडौं सरह ४ अंक जोडेको थियो। नेट रनरेटमा विराटनगरले काठमाडांैलाई माथ खुवाउँदै प्लेअफमा स्थान बनाएको थियो।

विराटनगरले फाइनल पुग्न आज हुने खेलमा बुटवलसँगै खेल्नेछ। फाइनलमा चितवन राइनोज पहिले नै पुगिसकेको छ। चितवनले लिगमा पाँचै खेल जितेको हो।

प्रतिक्रिया दिनुहोस्