विभेद नगर्न खेलाडी संघको माग



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल राष्ट्रिय तथा अन्तर्रािषर््ट्रय खेलाडी संघले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सरकारले घोषणा गरेको पुरस्कारमा विभेद नगर्न माग गरेको छ।
गत मंसिर २५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीलाई दिइने पुरस्कारको घोषणा गर्दा समूहगत खेलका रजत र काँस्य पदक जित्नेलाई प्रस्ट सम्बोधन भएको थिएन।

सागमा दुई पटकका स्वर्ण विजेता कराँते खेलाडी तथा संघका अध्यक्ष दीपक श्रेष्ठले सरकार र राखेपको नेतृत्वले असम्भवझै देखिएको साग आयोजनालाई सम्भव बनाएर नेपाली खेलाडीलाई राष्ट्रिय गौरवका गाथा रच्ने अवसर दिएको बताए।

उनले भने,– ‘वर्तमान सरकार र खासगरी प्रधानमन्त्रीज्यूले खेलाडीको हौसला अभिवृद्धिका लागि आकर्षक पुरस्कारको घोषणा गर्नुभएको छ। त्यसलाई हामी खेलाडीले स्वागत गर्न चाहन्छौं।’ ‘व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र काँस्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा भए पनि टिम खेलका रजत र काँस्य जित्नेलाई पुरस्कारमा प्रस्ट सम्बोधन भएको छैन। त्यो तत्काल होस् भन्ने हाम्रो माग हो।’
 विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समय कुर्नु परेको स्मरण गर्दै श्रेष्ठले यसपटक यथासिघ्र घोषित पुरस्कार प्रदान गर्न पनि अनुरोधसमेत गरे। नेपाली खेलकुदका कार्यकारी प्रमुख परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले यसपाली साग सकिएको एक साताभित्रै पुरस्कार दिइसक्ने घोषणा गरेका थिए।

सरकारले बनाएको खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ मा सागमा एकल विधातर्फ स्वर्ण, रजत र काँस्य जित्ने खेलाडीलाई क्रमशः ५ लाख, ३ लाख र २ लाख तथा समूहगत विधामा स्वर्ण, रजत र काँस्य जित्ने टोलीका प्रत्येक खेलाडीलाई क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख रुपियाँ दिने व्यवस्था थियो

। तर, प्रधानमन्त्री ओलीले खेलाडीको मनोबल उच्च बनाउने भन्दै ‘सरप्राइज प्याकेज’ घोषणा भन्दै व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई प्रतिस्वर्ण ९ लाख, रजत जित्नेलाई ६ लाख र काँस्य जित्नेलाई ३ लाख रुपियाँ दिने घोषणा गरेका थिए।

तीन पटकसम्म मिति सार्दै गरिएको घोषणामा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रतिस्वर्ण ११ लाखका दरले दिने घोषणा थियो। त्यसैगरी टिम स्पर्धामा स्वर्ण जित्नेलाई जनही ५ लाख रुपियाँ दिने घोषणा गरे पनि रजत र काँस्य पदक भने छुटाएका थिए।

सागको १३औं संस्करणमा नेपालले इतिहासमै सबभन्दा बढी ५१ स्वर्ण, ६० रजत र ९५ काँस्य पदकसहित कूल २ सय ६ पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्