चितवन फाइनलमा



विजय नेपाली, पोखरा।
चितवन राइनोजले जारी पोखरा प्रिमिएर लिग (पीपीएल) काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गर्दै मंगलबार फाइनलको यात्रा तय गरेको छ।राउन्ड रोविनको आधारमा खेलाइएका पाँचै खेल जितेर चितवन १० अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

१ सय ६८ रनको लक्ष्य दिएको चितवनले काठमाडौंलाई केबल १ सय ७ रनमा समेटेको थियो। हार बाबजुद काठमाडौंले प्लेअफ खेल्ने सम्भावना भने जीवितै राखेको छ।काठमाडौंको शुरुवात नै राम्रो हुन सकेन। ओपनरद्वय जयकिसन कोल्सावाल र अमित श्रेष्ठ खाता नखोली आउट हुन पुगे।

कोल्सावाल करण केसीको सिकार बने भने श्रेष्ठ सन्नि पटेलको बलमा एलबीडब्लू आउट भएका थिए। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४० रन बनाए। ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरेका उनलाई भुवन कार्कीले कप्तान पारस खड्काद्वारा क्याचआउट गराएका थिए।
यसपछि गौरव तोमर ६ रन बनाएर पवेलियन फर्किए। उनलाई रामनरेश गिरीले आउट गरेका थिए। पृथु बाँस्कोटाले १८ रन बनाए। उनी पारसको बलमा आउट भए। दिपेश श्रेष्ठले २ रन बनाएर रोहन मुस्तफाको बलमा आउट भएका थिए।
चितवनका लागि शन्निले ४ विकेट लिँदा रोहनले २ विकेट हात पारेका थिए। करन केसी, पारस खड्का, रामनरेश गिरी, भुवन कार्कीले एक–एक विकेट हासिल गरेका थिए।

यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो। चितवनका लागि बाबर हायातले सर्वाधिक ७० रन बनाए।

प्रतिक्रिया दिनुहोस्