ग्रामर र न्यु भिजनलाई फिजम कप



नेपाल समाचारपत्र, काठमाडौं।
ग्रामर र न्यु भिजनले चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन्।
ग्रामर ब्वाइज तथा न्यु भिजन गल्र्समा च्याम्पियन बनेका हुन्। संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रामरले हिमालयलाई ८४–७१ ले पराजित गर्यो।

ग्रामरका क्षितिज महतले २८ अंक जोडे। जेनिअमले हेब्रोनलाई ३६–२३ ले हराउँदै तेस्रो भए। जेनिअमका विशाल बस्नेतले १४ अंक जोडे।

गोठाटारस्थित मोनास्टिक पब्लिक इङलिस स्कुलको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले ग्रामरलाई १७–११ ले पाखा लगायो। न्यु भिजनका युनिशा बुढाथोकी र सपना थापाले समान ६–६ स्कोर गरे।
तेस्रो स्थानका लागि भएको खेलमा जेनिअमले हिमालयलाई १८–१५ ले पन्छायो। जेनिअमकी एरिना श्रेष्ठले ७ अंक जोडिन्।
ब्वाइजमा ग्रामरका आर्यन मल्ल तथा गल्र्समा न्यु भिजनकी युनिशा बुढाथोकी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

ब्वाइजमा हिमालयका प्रनुप स्याङबो तथा गल्र्समा ग्रामरकी रञ्जना वाइबा सर्वाधिक स्कोरकर्ता बने। प्रतियोगिताभर प्रनुपले १ सय ५१ तथा रञ्जनाले ८८ अंक जोडे। ब्वाइजमा मोनास्टिक तथा गल्र्समा बेस्ट ग्रुप भिजन अनुशासित टिम चुनिए।

विजेतालाई कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापा, फिजमका अध्यक्ष आरबी कट्वाल, उपाध्यक्ष अमृत खड्का, सचिव एवं अत्तिरिक्त कृयाकलाप संयोजक सुनिल केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पुस २ गतेदेखि शुरु प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा १३ टिम सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्