१२ वर्षीया दिनिशाले जितिन् स्वर्ण 



नेपाल समाचारपत्र, काठमाडौं।
कराँते खेलाडी दिनिशा लामाले १२ वर्षको उमेरमै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भएकी छन्। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी दिनिशाले बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय गोजुरियो च्याम्पियनसीपमा स्वर्णपदक जितेकी हुन्।
गत शनिबार ढाकामा भएको ४५ केजी तौलसमूहमा दिनिशाले फाइनलमा भारतीय खेलाडीलाई ४–१ पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।
उनले पहिलो चरणमा स्थानीय खेलाडीलाई, सेमीफाइनलमा सिंगापुरकी खेलाडीलाई र फाइनलमा भारतीय खेलाडीलाई हराएकी हुन्। त्रिज्योति उच्चमावि कपनमा ७ कक्षामा अध्ययनरत १२ वर्षीया दिनिशाले पहिलो अन्तर्राष्ट्रिय सहभागीतामै स्वर्णपदक जितेपछि खेलाडीकै रूपमा अगाडि बढ्ने हौसला मिलेको बताएकी छिन्।

दिनिशा कराँते प्रशिक्षक एवं एसियाली कराँते महासंघका अम्पायर दीपक लामाकी छोरी हुन्। दीपकले हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा अम्पायरको भूमिका निर्वाह गरेका थिए। उनले छोरीले हासिल गरेको सफलतामा खुशी व्यक्त गरेका छन्। उनले छोरीलाई अझ बढी मेहनत गराएर राष्ट्रिय खेलाडी बनाउने लक्ष्य राखेको बताएका छन्।

दिनिशासँगै पाँच जना खेलाडीहरू ढाका गएकामा काता र कुमुतेमा गरी छ स्वर्ण पदक र एक रजत गरी सात पदक लिएर नेपाल फर्किएको हो।
चार टिम सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको छ। आयोजक बंगलादेशका एक सय, सिंगापुरका ४ र भारतका १ सय ७० खेलाडी सहभागी रहेका थिए।

प्रतिक्रिया दिनुहोस्