सन्तोष १ सय गोलको कोशेढुंगा नजिक



फिरोज राजोपाध्याय, काठमाडौं।
सन्तोष साहुखलले आफ्नो ए डिभिजन लिग फुटबलको करियरमा १ सयौं गोल गर्ने तरखरमा छन्। उनी यस्तो कोशेढुंगामा पुग्नमात्रै एक गोलले पछि छन्। नेपाली राष्ट्रिय टोलीबाट ३४ क्याप लगाइसकेका उनी लिगमा व्यक्तिगत १ सयौं गोल गर्ने पहिलो खेलाडी बन्न गइरहेका छन्।

प्रत्येक फुटबलर कोशेढुंगामा पुग्न लालायित नै हुन्छन्। तर पनि सबैको यस्तो भाग्य पनि हुँदैन। ३१ वर्षीय सन्तोष चाहिँ यो मामिलामा भाग्यमानी खेलाडी बनेका छन्। च्यासल युवा क्लबबाट खेलिरहेका सन्तोषका लागि एक सयौं गोल गर्न अवसरैअवसर छ।
मछिन्द्रविरुद्ध सन्तोषले आफ्नो लिग करियरमा ९९औं गोल गरेका हुन्। यदि एनआरटीविरुद्ध गोल गरेमा उनी एकसयौं गोलको कोशेढुंगामा आजै पुग्नेछन्। ‘राष्ट्रिय टोलीबाट मात्र ३ गोल गरेका सन्तोषले यसमा कुनै दबाब नभएको भन्दै बताए’ —एक सयौं गोलको लक्ष्यमा छुँ। तर ‘म दबाबमा भने पटक्कै छैन।’ ‘मैले एकसयौं गोल गरेमा पनि मेरो खुशी मनाउने शैली सामान्य नै हुनेछ।’
त्यसो त आज दशरथ रंगशालामा हुने एनआरटीविरुद्धको खेलमा खैरो हेयर स्टाइल बनाएका सन्तोषमाथि सबैको नजर हुनेनै छ। यदि यसमा गोल गर्न नसकेमा पनि उनको लागि अझैं अर्को मौका जुट्नेछ। किनभने यो खेलपछि लिगमा उनको १० खेल खेल्न बाँकी नै हुन्छ, जसमा कुनै एक खेल उनको करियरका लागि कोशेढुंगा साबित हुने तयनै छ।

जारी ए डिभिजन लिगमा सन्तोषको सानदार शुरुवात पनि भयो। च्यासलले पहिलो खेलमा संकटालाई २–० ले जित्दा सन्तोषले दुबै गोल गरेका थिए। यसपछि दोस्रो खेलमा पनि उनको जादु चल्यो। मछिन्द्रविरुद्ध उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यद्दपि पछि मछिन्द्रले गोल फर्काएपछि उनको टोली बराबरीमा रोकिएको थियो।

सन्तोषले २०६० देखि लिग करियर शुरु गरेका हुन्। उनको सबैभन्दा बढी बितेको समय भनेको ललितपुरकै महारथी टोली थ्रीस्टार क्लब हो। उनले १६ वर्षको उमेरमा थ्रीस्टारबाट डेब्यु गरेका थिए। उनले लिगमा पहिलो खेल संकटा विरुद्ध खेल्दा थ्रीस्टार ३–२ ले हारेको थियो। तर थ्रीस्टारले गरेको दुई गोलमा एक गोल उनकै थियो।

यसपछि २०६१ मा एपीएफ र २०६८ मा मनाङमा खेल्नुबाहेक २०७० सम्म उनले थ्रीस्टारबाटै खेले। थ्रीस्टारको लागि सन्तोषले कूल ७१ गोल गरेका थिए। साथै उनले सो क्लबलाई तीन पटक उपाधि पनि दिलाउन महत्वपूर्ण भूमिका खेलका थिए।

अहिले भने सन्तोष निकै फरक देखिएका छन्। जापानमै बसेकाले उनले आफूलाई धेरै फिट भएको महसुससमेत गरेका छन्। साथै त्यहींबाट एउटा खेलाडी अनुसासित हुनु पर्ने पनि सिकेको बताएका छन्। उनले भने— ‘जापानमा बसेपछि खेलाडी कति अनुशासित हुनुपर्छ त्यो बुझेँ मैले। र अहिले म पहिले भन्दा निकै फिट भएको पनि महसुस गरेको छु।’
लिगमा सन्तोषको ९९ गोल
२०६० थ्रीस्टार ६
२०६१ एपीएफ ६
२०६२ थ्रीस्टार ९
२०६३ थ्रीस्टार ११
२०६६÷६७ थ्रीस्टार १९
२०६८ मनाङ १६
२०६९ थ्रीस्टार १७
२०७० थ्रीस्टार ९
२०७५ च्यासल ३
२०७६ च्यासल ३ (हालसम्म)

प्रतिक्रिया दिनुहोस्