चितवन राइनोज पीपीएलको फाइनलमा



न्युज अफ नेपाल, पोखरा ।

चितवन राइनोज समुह चरणका ५ वटै खेलमा सहज जित हात पार्दै पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा पुगेको छ ।

आज (मंगलबार) भएको खेलमा चितवनले काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनको विशाल अन्तरले पराजित गर्‍यो । आजको हारपछि काठमाडौं अंकतालिकामा तेस्रो स्थानबाट माथि उक्लिन सकेन । अब उसले फाइनलमा स्थान बनाउनका लागि बिराटनगर र बुटबलबीचको खेलको नतिजा कुर्नुपर्ने छ ।

आजको खेलमा काठमाडौं गोल्डेनले टस जितेर पहिले बलिङ रोज्यो । बलियो ब्याटिङ पङ्ति भएको चितवनका लागि दुई विदेशी ब्याट्सम्यानहरु रोहन मुस्तफा र बबर हायातले निर्णायक साझेदारी गरे ।

ओपनर करण केसी १ रन मात्र बनाएर आउट भए । तर, त्यसपछि रोहन र बबरबीच दोस्रो विकेटका लागि एक सय १९ रनको साझेदारी भयो । यही साझेदारीले काठमाडौं ब्याकफुटमा आयो ।

१५.२ ओभरमा एक सय २१ रनको स्थितिमा उनीहरुको साझेदारी टुटेको थियो । बबरले ४७ बलमा ६ छक्का र ३ चौकासहित ७० रन बनाए । केही संयमित देखिएका रोहनले ५२ बलमा १ छक्का र ६ चौकासहित ५९ रनको योगदान दिए ।

बबर र रोहनको साझेदारी टुटेपछि पनि चितवनको रन गति रोकिएन । मध्यक्रमका आरिफ सेख र सन्नी पटेलले पनि अन्तिमतिर आक्रामकरुपमा रन बटृुले । आरिफले ९ बलमा १५ र सन्नीले ८ बलमा १५ रन बनाएका थिए ।

काठमाडौंका लागि सुसन भारी, बसन्त रेग्मी र अमरसिंह रौटेलाले एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा आएको काठमाडौंले खाता नखोल्दै दुई महत्वपूर्ण विकेट गुमाएपछि दवावमा पर्‍यो । काठमाडौंका ओपनरद्वय जयकृसन कोल्सावल र अमित श्रेष्ठ शून्यमा आउट भएका थिए ।

चौथो नम्बरमा आएका भारतीय ब्याट्सम्यान गौरव तोमर पनि धेरैबेर टिक्न सकेनन् । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र पवन सर्राफको साझेदारीले थोरै आशा जगायो । उनीहरुले ९.४ ओभरमा ६२ रनको स्थितिमा पुर्‍याए ।

कप्तान ज्ञानेन्द्रले ३९ बलमा ३ चौका र २ छक्का सहित ४० रन बनाएका छन् । पृथु बास्कोटाले २३ बलमा १८ रन जोडे ।

सन्नी पटेलले ४ ओभरमा १९ रन खर्चिँदै ३ विकेट लिए भने कसिलो बलिङ गरेका रोहन मुस्तफाले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्