जातीय विभेदको शिकार बन्दै तराईका दलित समुदाय



शुभेन्दर दास, लहान

सिरहाको नवराजपुर गाउँपालिका ३ मझौरास्थित १४ घरपरिवार रहेको दलित समुदायले आफूहरु दलित भएकै कारण अझै पनि उत्पिडनमा परेको गुनासो गरेका छन् । स्थानिय शिवनाथ यादवले दलित बस्ति जाने ९ फिटको बाटो मिच्दा ३ फिट बाटो मात्र बाँकि रहेको दलित अगुवा राम चलित्र मोचीले बताए । बाटोको विषयलाई लिएर पटक पटक गाउँपालिका प्रमुख विश्व मोहन यादवसँग गुनासो गरेपछि आफ्नो कुरा कसैले नसुनेको उनीहरुले बताए ।

वडाध्यक्ष ईश कुमार यादव लगायत जनप्रतिनिधी र समाजका ठूलाबडा व्यक्तिहरु समक्ष आफ्नो व्यथा सुनाउँदा उनीहरुले एक बर्ष अगाडी नै बाटो पुनः ९ फिटको बनाईदिने निर्णय गरेका भएपनि उक्त निर्णय अहिले सम्म लागु नभएको राम चलित्रले बताए । बाटो सानो भएका कारण गाउँमा कोही बिरामी हुँदा एम्बुलेन्स समेत बोलाउने अवस्था नभएको चलित्रले जनाए ।

करिब सात पुस्ता अघिदेखि चमार समुदाय सो ठाउँमा बसोबास गर्दै आएको एक ६० बर्षिय वद्ध बिल्टु मोचिले बताए । हाल उक्त स्थानमा चमार समुदायका १४ घर परिवारको बसोबस रहेको छ ।

बस्तिको वरीपरि शिवनाथ यादवको लगभग एक बिगाहा जग्गा छ । उक्त बस्तिमा जाने बाटो यादवकै जग्गामा पर्ने भएकाले जग्गाधनी यादवले ९ फिटको बाटो बनाउन आनाकानी गरिरहेको उनिहरुले बताए । बाटो बनाउने बिषयलाई लिएरै चमार समुदायमाथी बिगतमा कुटपिट पनि भएको बस्तिका एक युवा फुलदेव रामले बताए ।

जग्गाधनी यादव बाटोको विषयमा मात्र नभएर अरुबेला पनि आफूहरुमाथि अन्याय गर्ने गरेको बस्तिवासीहरुको गुनासो रहेको छ । यादवले दश बर्ष अघि करिव ६० हजार रुपैयाँ पर्ने सिसौको काठ जबरजस्ति काटेर लगिदिएको रामजतन मोचिले सुनाए ।

वडा नम्बर ३ का वडाअध्यक्ष ईश कुमार यादवले भने यस बिषयमा आफुलाई केही पनि जानकारी नभएको र बाटो बनाउने कुनै पनि निर्णय नगरेको बताएका छन् । चमार बस्तिमा आफूले बाटो बनाउन पहल गरेपनि उक्त वडाका वडाध्यक्ष र अन्य व्यक्ति तयार नभएकाले अहिले सम्म बाटो बन्न नसकेको नवराजपुर गाउँपालिका प्रमुख विश्व मोहन प्रसाद यादवले बताए ।

यस्तै, समाजवादी पार्टिका युवा नेता तथा नवराजपुर गाउँपालिका अध्यक्ष समेत रहेका शिवनाथ यादवले चमार बस्तिमा दमनको नीति ल्याएको स्थानीयले बताए । केही समय अघि बस्तिमा जाने फराकिलो बाटो बनाउने भनेर सिमाकंन समेत गर्दा पनि शिवनाथले बाटो बनाउन दिएका थिएनन् ।

मधेसमा सक्रिय रैथाने एकता परिषद्का संयोजक सन्तोष बराइलीले व्यवस्था परिवर्तन भए पनि तराई मधेसका दलितहरु माथी भइरहेको बिभेद भने जारी रहेको र यस बिषयमा तीनै तहको सरकार गम्भिर हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्