भेट्रान्स कप उपाधि बगरभाइ खलकलाई



न्युज अफ नेपाल, हेटौंडा ।

पाँचौं हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि पाहुना टोली बगरभाइ खलक पोखराले हात पारेको छ ।

शनिबार हेटौंडाको लोकतान्त्रिक चौर हुप्रचौरमा सम्पन्न फाइनलमा बानेश्वर फुटबल टिमलाई २–० गोलअन्तरले पछाडि पार्दै बगरभाइ खलक पोखरा विजयी भएको हो । बगरभाइको तर्फबाट ७ औं मिनेटमा राजकुमार तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ४९ औं मिनेटमा क्याप्टेन ईश्वर गुरुङले थप गोल गर्दै टिमलाई विजयी बनाएका थिए ।

बानेश्वर फुटबल टिमले गोल गर्ने धेरै अवसर प्राप्त गरे पनि चुकाएको थियो । बगरभाइ खलकले नगद १ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने बानेश्वर फुटबल टिमले नगद ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उत्कृष्ट खेलाडी बगरभाइ खलकका क्याप्टेन गुरुङ घोषित भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । उत्कृष्ट फरवार्ड बगरभाइ खलकका राजकुमार तामाङ, वेष्ट डिफेन्स उपाधि बानेश्वर फुटबल टिमका विश्वबैराग समाल, वेष्ट मिडफिल्डर हरिहर झलक, वेष्ट किपरको उपाधि बगरभाइ खलकका लक्ष्मण तामाङ घोषित भएका थिए ।

उनीहरुले नगद ५ हजारसहित ट्रफी प्राप्त गरेका थिए । विजेता र उपविजेता टिमका खेलाडीलाई हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको बानेश्वरले आफूले प्राप्त गरेको पुरस्कार रकमबाट दश हजार रुपियाँ मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेको छ । क्लब पदाधिकारीले मामघर नेपाल मकवानपुरका संस्थापक संरक्षक अर्पण पराजुलीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

पुस २ गतेदेखि आयोजना भएको खेलमा ४० वर्षमाथि उमेर समूहका पूर्वराष्ट्रिय खेलाडीसहितको १६ टिमको सहभागिता थियो । समापन समारोह हेटौंडा भेट्रान्स अध्यक्ष दीपकराज बज्राचार्यको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्