चितवन शीर्ष स्थानमा कायमै



नेपाल समाचारपत्र, पोखरा।

जारी दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पिपिएल)मा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेर शीर्ष स्थान कायम राखेको छ। बिहीबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा बुटवललाई १ सय १९ को ठूलो रनले हराउँदै चितवनले दोस्रो जित निकालेको हो।

टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा २ सय ३ रन जोडेको थियो। २ सय ४ रनको लक्ष्य पाएकोे बुटवल ब्लास्टर्सले सबै विकेट गुमाएर ८४ रनमा समेटियो। बुटवलका लागि शिभम सिंहले सर्वाधिक ३३ रन जोडे। उनले ३३ बल कै सामना गरेर ३ छक्का र १ चौका प्रहार गरे।

बुटवललाई सस्तैमा समेट्न करण केसीले सर्वाधिक ४ विकेट लिए। उनले ३.४ ओभरमा मात्र ११ रन खर्चेका थिए। यस्तै रोहन मुस्ताफाले ३ ओभरमा ५ रन दिएर २ विकेट हात पारेका थिए। अन्यमा सन्नी पटेल, भुवन कार्की, बिक्रम शोभ र बिक्रम भुसालले एक÷एक विकेट हासिल गरेका थिए।

चितवनको ब्याटिङमा ओपनरद्वय रोहन मुस्ताफा र पारस खड्काले अर्धशतक बनाए। ५६ बल खेलेका रोहनले ७ चौका र २ छक्काको सहयोगमा ७० रन जोडेका थिए। यस्तै पारसले ४० बल खेल्दै ६३ रन जोडे। उनले ६ चौका र २ छक्का प्रहार गरे। आरिफ शेखले १९ बल खेल्दै ४० रन जोडे। उनले ३ छक्का र ३ चौका हाने।

बुटवलका लागि अफ्ताबुद्धिन अहमदले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट हासिल गरेका थिए। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसको कप्तानीमा रहेको चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले काठमाडौं गोल्डेनलाई सुपर ओभरमा हराएको थियो।

यो जितसँगै चितवनले दुई खेलबाट ४ अंक जोडेको छ। चितवन अंक तालिकाको शीर्ष स्थानमा रहँदा पराजित भएको बुटवलको दुई खेलबाट २ अंक रहेको छ। बुटवल नेट रन रेटको आधारमा अंक तालिकाको पुछारमा छ।

जितपछि चितवनका कप्तान पारसले अघिल्लो खेलको गतिलाई अँगालेर खेल जित्न सफल भएको बताए। उनले अन्तिम खेलसम्मै यो गति कायम राख्ने स्पष्ट पारे। उनले भने, ‘हामीले अहिलेसम्म खेलेको दुवै खेल जित्यौँ, यो लय अन्तिमसम्म नै कायम राख्नका लागि प्रयासरत रहने छौं।’

त्यस्तै हारपछि बुटवलका कप्तान सोमपाल कामीले पोखराको पीचमा २ सयको लक्ष्य मुस्किल नभएको तर आफ्नो शीर्ष ब्याटसम्यान चुक्दा खेलमा लक्ष्य भेट्टाउन नसकेको प्रतिक्रिया दिए। उनले भने, ‘हामी लक्ष्य भेट्टाउनका लागि मैदानमा उत्रिएका थियौं तर पावरप्लेमा रन बन्न नसक्दा पराजित भयौं।’

प्रतिक्रिया दिनुहोस्