मनाङको जित थ्रीस्टार बराबरीमा



नेपाल समाचारपत्र, काठमाडौं।

डिफेन्डिङ च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले जारी कतार ऐयरवेज शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुआत गरेको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा मनाङले विभागीय टोली नेपाल एपीएफ क्लबलाई २–० ले हराएको हो।

टोलीका जितमा विमल रानाले दुबै गोल गरेका हुन्। सातौं मिनेटमा गोल गर्न चुकेका उनले २८औं मिनेटमा त्यसको भर्पाइ गरे। उनले जगजित श्रेष्ठको क्रसमा हेडमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

३४औं मिनेटमा फ्लोरेन्ट कोर्वाको पासमा उनको शसक्त प्रहार गोलमा परिणत भएको थियो। त्यसपछि बाँकी समय गोल नहुँदा मनाङले स्पष्ट ३ अंक जोडेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको ललितपुर डर्बीमा भने रुस्लान थ्रीस्टार क्लब र प्रभु जावलाखेल युथ क्लबले अंक बाँडेका छन्। दुबै टोलीले निर्धारित समयसम्म गोल गर्न नसक्दा यो खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

लिग उपाधिको दावेदारीमध्ये एक टोली थ्रीस्टारले ६९औं मिनेटमा गोल गर्ने सुन्दर अवसर पाएको थियो। तर त्यसमा विजय भुजेल सफल भएनन्। जावलाखेलका गोलरक्षक बिट भइसकेको अवस्थामा उनी खाली पोस्टमा गोल गर्न चुकेका थिए।

प्रतिक्रिया दिनुहोस्