भेट्रान्स फुटबल शुरू



हेटौंडा, (नेस)।

बुधबारबाट शुरू भएको पाँचौं हेटांैडा भेट्रान्स कप राष्ट्रिय एट ‘ए’ साइड फुटबल प्रतियोगितामा अमरसिंह युवा क्लब, कैलाली भेट्रान्स, बानेश्वर फुटबल टिम र बौद्ध क्लबले विजयी शुरुआत गरेका छन्।

बुधबार भएका खेलमा अमरसिंहले सिमरा भेट्रान्सलाई २–० गोलअन्तरले हरायो। विजेता टोलीका लागि विजय गुरुङले सातौं मिनेटमा र हरि लामाले २४औं मिनेटमा गोल गरेका थिए।

दोस्रो खेलमा कैलालीले चितवन भेट्रान्स निलोलाई २–० गोलअन्तरले नै पराजित गर्यो। टोलीका लागि रुपेश केसीले १५औं र ३८औं मिनेटमा गोल गरे।

यस्तै तेस्रो खेलमा बानेश्वर फुटबल टिमले जोरपाटी भेट्रान्सलाई १–० गोलअन्तरले पाखा लगायो, जसमा उज्ज्वल श्रेष्ठले निर्णायक गोल गरेका थिए। चौथो खेलमा बौद्ध क्लबले भनिमण्डललाई टाइब्रेकरमा हराएको थियो। निर्धारित समयमा दुवै टिमले १–१ बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्