ज्ञानेन्द्रको शतकमा काठमाडौंको पहिलो जित



विजय नेपाली, पोखरा।

दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित निकाल्दा कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन्।बुधबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले एक्सपर्ट धनगढीलाई १ सय ६ रनले हराएको हो।

१ सय ८६ रनको विशाल लक्ष्य दिएर काठमाडौंले धनगढीलाई ७९ रनमै समेटेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो।काठमाडौंले शुरूमै ओपनरलाई गुमाएको थियो।

तेस्रो बलमा गौरव तोमर शून्यमा आउट भएका थिए। तोमरलाई कमल सिंह ऐरीले धनगढीका कप्तान दिपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट गराएका थिए।

काठमाडौंका अर्का ब्याट्सम्यान अमित श्रेष्ठ व्यक्तिगत ३४ रन बनाएर आउट हुन पुगे। उनले ६ चौका र १ छक्काका साथ आक्रामक पारी खेलेका थिए।

जयकिसन कोल्सवालासँग ५१ रनको साझेदारी गरेका अमितलाई सागर ढकालले बिक्रम ठगुन्नाद्वारा क्याच आउट गराए। दुई ब्याट्सम्यान आउट भएपछि मैदानमा उत्रेका कप्तान मल्लले आक्रामक पारी खेले।

म्यान अफ द म्याच घोषित मल्लले ३८ बलको सामना गरी ८ चौका र ९ छक्काको सहयोगमा १ सय रन जोडेका थिए। यो सतक जारी पीपीएलकै पहिलो शतकसमेत हो। मल्लले कोल्सवालासँग १ सय ३१ रनको साझेदारी गर्दै जितसमेत दिलाएका थिए।

उनी कमलसिंह ऐरीको बलमा आउट भएका थिए। कोल्सवालाले ३६ बलमा ४६ रन बनाए। धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिँदा सागर ढकालले १ विकेट लिए।धनगढीले शुरुआतदेखि नै विकेट गुमाएर दबाबमा खेल्नुपरेको थियो।

ओपनर ब्याट्सम्यान सन्दिप सुनार रनको खाता नै नखोलेर पवेलियन फर्के। यसपछि आएका ब्याट्सम्यान पनि सस्तैमा आउट भएका थिए। श्रीमन्था विजयारत्ने १५ रन, रोड्रिगो थोमस १० रन, सन्दिप जोरा ६ रन, अमित यादव ३ रनमा आउट भएका थिए।

कप्तान दिपेन्द्र सिंह ऐरी पनि ८ रनमै पवेलियन फर्कदा धनगढीको हार निश्चित भएको थियो। उनी बसन्त रेग्मीको बलमा आउट भएका थिए।

काठमाडौंका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट हात पारे। पवन सराफ र सुवोध भाटीले २ विकेट लिँदा अमृत भट्टराई, सुसान भारीले समान एक–एक विकेट हात पारेका थिए।

चितवन शीर्षमा

पीपीएलमा चितवन राइनोज २ अंकसहित शीर्ष स्थानमा रहेको छ। टोलीले एक खेल मात्रै खेलेको छ। यस्तै ३÷३ खेल खेलेका काठमाडौं गोल्डेन्स र पोखरा पल्टनले समान २ अंक जोड्दै क्रमशः दोस्रो र पाँचौं स्थानमा छन्।

२ खेल खेलेको विराटनगर टाइटान्स तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा बु्टवल ब्लास्टर्स र पुछारमा एक्सपर्ट धनगढी रहेका छन्। बुटवलले १ खेल खेलेको छ भने धनगढीले २ खेल खेलेको छ।

प्रतिक्रिया दिनुहोस्