एनआरटीको सरस्वतीमाथि ४ गोल



नेपाल समाचारपत्र, काठमाडौं।

कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत् मंगलबार भएको खेलमा न्युरोड टिम (एनआरटी) ले गोल वर्षा गर्दै जित हात पारेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोलअन्तरले हराएको हो।

जिते पनि एनआरटीले १ अंक मात्रै जोडेको छ। गत वर्ष ए डिभिजन लिगमा एनआरटी पुछारमा रहेको थियो।

उक्त लिगमा रेलिगेसनको प्रावधान नभएको हुँदा पुछारका दुई टोलीलाई यस सिजनका लागि क्रमशः २ र १ अंक काटिने गरिएको थियो। यसअघि मछिन्द्रले जितेपनि १ अंक काटिएर २ अंकमा सीमित भएको थियो।

टोलीलाई जित दिलाउन सरोज तामाङले २ गोलको योगदान दिए भने जुनियर र ओआनाले एक–एक गोल गरेका थिए। टोलीका लागि विदेशी खेलाडी जुनियर अनग्वेन निकेन्ग्वेले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

उनले कप्तान प्रकाश बुढाथोकीको कर्नर प्रहारमा हेड गर्दै गोलको दिशा दिएका थिए। पहिलो हाफमा एनआरटी १–० को अग्रता यथावत राखेको थियो।

दोस्रो हाफमा भने टोलीले तीन गोल गर्न सफल भयो, जसमा सरोजले दुई गोल गरे। उनले ६९औं मिनेटमा मिन एरिक विष्टको फ्रिकिकमा हेडबाटै गोल गरेका थिए। उनले नै ८१औं मिनेटमा अर्को गोल गरेपछि टोलीको जित सुनिश्चित भएको थियो। अन्तिममा जोर्डान जुनियर एन्डेम्बा ओवोनाले एक गोल थपेका थिए।

यता दशरथ रंगशालामा भएको खेल भने गोलरहित बराबरीमा सकिएको थियो। सो नतिजासँगै नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले १÷१ अंक बाँड्नु परेको थियो। दुबै टोलीले गोल गर्ने अवसर गुमाउँदा बराबरी नतिजामा चित्त बुझाउनु परेको थियो।

तस्वीर: उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्