विमलसहित ४ खेलाडीको अपिल



नेपाल समाचारपत्र, काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कारवाहीमा परेका विमल घर्तीमगरसहित ४ खेलाडीले कारवाहीको अवधि कम गर्न एन्फाको अपिल कमिटीमा निवेदन दिएका छन्।एन्फाले शुक्रबार विमल र दिनेश राजवंशीलाई ९० दिन तथा अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिनको निलम्बन गर्ने गरी कारवाही गरेको थियो।

मंसीर २५ गतेबाट नै कारवाही लागु हुने एन्फाको विज्ञप्तीमा उल्लेख रहेको थियो। ती सबै खेलाडीलाई जनही ५० हजार जरिवाना पनि तोकिएको थियो।गत मंसिर ३ गते कुवेतसँगको विश्व कप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राति (शुक्रबार) डिस्को गएर मादक पदार्थ सेवन गरेको समाचार सार्वजनिक भएपछि एन्फाले कारवाही गरेको थियो।

भुटानका लागि ४ खेलाडी एन्फा पुगेपनि कारवाही सुनेपछि उनीहरू घर फर्केका थिए।हाल ए डिभिजन लिग सञ्चालन भइरहेको छ। तीन खेलाडी अन्जन, सन्तोष र दिनेश जारी लिगका क्लबसँग आबद्ध छन्।

अन्जन मनाङ मस्र्याङ्दी क्लबसँग, सन्तोष त्रिभुवन आर्मी क्लबसँग र दिनेश च्यासल युवा क्लबसँग आबद्ध रहेका छन्। तर कार्वाहीले गर्दा यी तीनै जना खेलाडीले लिगमा खेल्ने संभावना न्यून रहेको छ। विमलले भने माल्दिभ्सको लिग खेल्न पाउनेछन्। उनले गत सिजनमा च्यासलबाट खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्