न्युज अफ नेपाल, काठमाडौं ।
पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधव नेपाल सहभागी भएको कार्यक्रम नेपाली कांग्रेसका नेताहरुले बहिष्कार गरेका छन् ।
कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापासहित नेकपाका नेता माधव नेपालसमेत सहभागी भएको एक औपचारिक कार्यक्रम नेपाली कांग्रेसका नेताहरुले बहिष्कार गरेका हुन् ।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य तथा क्षेत्र नम्वर दुई का संगठन विभाग प्रमुख ओम बहादुर कार्कीले मेयर थापाको औपचारिक कार्यक्रम बहिष्कार गर्ने कागेश्वर मनहरा नगर संघर्ष समितिको निर्णयलाई स्वीकार गर्दै थापा सहभागी कार्यक्रम बहिष्कार गरिएको दावी गरे ।
कागेश्वरी मनहरा नगरपालिका आन्दोलनमा भएका कारण मेयर थापाको अवैधानिक गतिविधिको विरुद्धमा ऐक्यबद्धता जनाउन यसो गरिएको कार्कीले जानकारी दिए ।
विगत केही साता देखी कागेश्वरी मनहरा नगरपालिकामा भएका भनिएका चरम अनियमितता र ब्यथिति विरुद्ध नेपाली कांग्रेसले अभियान शुरु गरेको छ ।
पहिलो चरणमा मेयरलाई ज्ञापनपत्र दिने र अन्य खाले विरोध कार्यक्रम आयोजना गरेको कांग्रेसले दोस्रो चरणमा वडै पिच्छे सार्वजनिक सुनुवाई र कोण सभा आयोजना गरेको थियो ।
गत साता मात्रै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्मा सहितको उपस्थितिमा नगरपालिका अगाडी नै कांग्रेसले विरोध सभा आयोजना गरेको थियो ।
सोही विरोध सभामै घोषणा गरिए अनुरुप कांग्रेसले मेयर सहभागी हुने सवै खाले औपचारिक कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको थियो ।
काठमाडौं क्षेत्र नम्वर दुई का सांसद समेत रहेका माधव कुमार नेपाल सहितको टोली जोरपाटी – साँखु सडकको निर्माणका लागि भनेर अन्तकृया कार्यक्रममा सहभागी हुन शंखरापुर नगरपालिका पुगेका थिए ।
उनीसँगै मेयर थापा पनि सो कार्यक्रममा सहभागी भएपछि कांग्रेसले विरोध जनाउदै कार्यक्रम स्थल छाडेर हिडेको बताइएको छ ।
कागेश्वरी मनहरा नगरपालिकाका मेयरले प्रमुख प्रतिपक्षीलाई पेलेर अगाडी बढ्न खोजेका कारण कांग्रेस बाध्य भएर आन्दोलनमा जानु परेको संघर्ष समितिका संयोजक शंकर थापाले जानकारी दिए ।











प्रतिक्रिया