न्युज अफ नेपाल, हेटौंडा ।
फिरौती रकम मागेर स्थानीय उद्योगी तथा व्यबसायीलाई सताउँदै आएको गिरोह नै पक्राउ परेको छ ।
पटकपटक फोन गरी लाखौं फिरौती माग गर्ने र फिरौती रकम दिन अस्वीकार गरेपछि उद्योगमा बम विष्फोट गर्ने धम्की दिनेहरु पक्राउ परेका हुन् ।
कत्तिक ४ गते मनोजप्रसाद तेलीको इँट्टा उद्योगमा बम विष्फोट गरी ‘फिरौती रकम दिनू, नत्र घरपरिवार समेतलाई खतरा हुनेछ’ भन्दै बाराको परवानीपुर गाउँपालिका–४ स्थित एमएस इँट्टा उद्योगका सञ्चालक कलैया उपमहानगरपालिका वडा नम्बर–२५ बस्ने मनोजप्रसाद साहतेलीलाई बाराको परवानीपुर गाउँपालिका–४ बस्ने वर्ष ३१ का प्रमोद साहगोढले ३ महिनादेखि पटकपटक फोन गरी फिरौती रकम माग गरेका थिए ।
फिरौती रकम दिन अस्वीकार गरेपछि कात्तिक ४ गते गोढसमेतले तेलीको इँट्टा उद्योगमा बम विष्फोट गरी फिरौती रकम नदिए घरपरिवार समेतलाई खतरा हुने भन्दै मोबाइलबाट एसएमएस तथा फोनबाट धम्की दिएका थिए ।
बुधबार गोढले तेलीलाई फोन गरी फिरौती रकम ३ लाख लिएर जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर–४ स्थित चैनपुरमा बोलाए । इलाका प्रहरी कार्यालय सिमरामा उक्त जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली सोही स्थानमा खटेर फिरौती रकम माग गरी लिन जानेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा परवानीपुर गाउँपालिका–४ बस्ने वर्ष ३१ का प्रमोद साहगोढ, वर्ष २० का देवशंकर राम, जीतपुरसिमरा–२० बस्ने वर्ष २० का अच्छेलाल गोसाईं र फेटा गाउँपालिका–३ बस्ने वर्ष ३९ का दीपेन्द्रकुमार धानुक छन् ।
उनीहरु उपर मुलुकी अपराधसंहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम आपराधिक लाभ कसुर मुद्धामा बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न ५ दिन म्याद थप अनुमति प्राप्त भएको प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो ।
गोढलाई २०७३ चैत २८ गते बीरगञ्ज–८ स्थित सडकबाट प्रहरीले अवैध घरेलु नलकटुवा बन्दुक थान १ र ३ राउण्ड गोलीसहित पक्राउ गरी हातहतियार खरखजाना मुद्धा चलाएको बुझिएको छ ।
उनीहरुले बाराको पसौनी गापा–४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोबाइलबाट धम्की दिएर ५० लाख रुपियाँ फिरौती माग गरेको र फिरौती नदिएपछि असोज १० गते राति सुतली बम विष्फोट गराएको खुल्न आएको प्रउ खनालले बताउनुभयो ।
त्यतिमात्र होइन, उक्त समूहले बाराको परवानीपुर गापा–४ स्थित नारायणी आयल रिफाइनरीमा समेत धम्की दिएर फिरौती माग गरेको र रकम नदिएपछि असोज २ गते सुतली बम विष्फोट गराएका थिए । उक्त उद्योगबाट उनीहरुले २५ हजार फिरौती रकम लिएका थिए ।
प्रमोद साहगोढसँग ३ वटा मोबाइल चालु अबस्थामा रहेको र ती मोबाइल प्रहरीले बरामद गरेको छ । उनले फिरौती रकम माग गर्न फरकफरक सिम प्रयोग गर्ने गरेको बुझिएको छ ।











प्रतिक्रिया