नेपाल समाचारपत्र, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपाली खेलाडीहरूको प्रदर्शन असाधारण रहेको बताउनुभएको छ।
नेपालले यसअघि हासिल गरेका उपलब्धिमा १३औं सागमा रेकर्ड तोडेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई बधाई दिनुभएको थियो।
सागमा पदक विजेता खेलाडीहरूलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खेलकूदमा राष्ट्रले प्राप्त गरेको खुसीयाली साटासाट गर्नुभएको हो।
‘५० वटा खेलमा सामेल हुने हैसियत नभएका ठाउँबाट आज देशलाई ५१ वटा स्वर्ण पदक दिलाउनुभएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सानो उपलब्धि होइन।
अब हामीले यसलाई थालनी मानेर खेलकूदमा नयाँ उपलब्धिहरू हासिल गर्दै जानुपर्नेछ।’ उहाँले १४औं सागमा अहिलेका सबै जितको रेकर्ड तोड्ने गरी अघि बढ्न पनि खेलाडीहरूलाई आह्वान गर्नुभयो।
प्रधानमन्त्री ओलीले भूकम्पका कारण खेलकूदका पूर्वाधार सबै भत्केको अवस्थामा सफलतापूर्वक साग आयोजना हुनुलाई पनि उपलब्धिका रुपमा लिनु पर्ने उहाँको भनाइ थियो।
‘भूकम्पले हाम्रा सबै पूर्वाधारहरू भत्केका थिए, हामीलाई ती संरचनाहरू बनाएर खेल आयोजना गर्नु कठीन काम थियो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नभत्केको, बनाउनु नपर्ने कहीँ थिएन, सबै कुरा बनाउनुपर्ने थियो।
यस्तो अवस्थामा काठमाडौं, पोखरा र जनकपुरमा समेत सागका प्रतियोगिताहरू आयोजना गरेर हामीले गर्न सक्छौं भन्ने सन्देश दिएका छौं।’ खेल क्षेत्रमा नेपालले इतिहासको रेकर्ड तोडेको र अब थप गतिका साथ अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक विजेता खेलाडीहरूलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपियाँ पुरस्कार दिने घोषणा गर्नुभयो।
यस्तै दुईभन्दा बढी स्वर्णपदक विजेतालाई प्रतिस्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो। समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पाँच पाँच लाख रुपियाँ पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो।
गौरिकाले ५० लाखभन्दा बढी पाउने
सरकारको पुरस्कार घोषणाअनुसार सबैभन्दा बढी पौडीकी गौरिका सिंहले पाउने छिन्।
उनले ४ स्वर्ण, २ रजत गरी कूल ५६ लाख रुपियाँ प्राप्त गर्नेछिन्। ३ कांस्यको हिसाब अझै बाँकी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले टिमतर्फ रजत र कांस्यलाई रकम घोषणा गर्नुभएको छैन।
यसैगरी २/२ स्वर्ण जितेका तेक्वान्दोकी आयशा शाक्य, गल्फका सुभाष तामाङ र कराँतेका मन्डेकाजी श्रेष्ठले १४/१४ लाख पाउनेछन्। उनीहरूले एउटा व्यक्तिगत र अर्को टिममा स्वर्ण पाएका हुन्।
९ लाख पाउनेहरू
तेक्वान्दोतर्फः
सिना मादेन लिम्बू, कमल श्रेष्ठ, पार्वती गुरुङ, वीरबहादुर महरा, काजल श्रेष्ठ, संगीता बस्याल, सक्षम कार्की, भुपेन श्रेष्ठ।
उसुतर्फ:
विजय सिंजाली, सुस्मिता तामाङ, दीपक हमाल, निमा घर्तीमगर र जुनी राई।
कराँतेतर्फः
कुसुम खड्का, अनुपमा मगर, लक्ष्मण तामाङ, विप्लवमान श्रेष्ठ, नवीन रसाईली, अनु अधिकारी र सुनीता महर्जन।
जुडोतर्फ;
देवीका खड्का र पूनम श्रेष्ठ।
साइक्लिङतर्फः
राजेश मगर, निस्मा श्रेष्ठ, लक्ष्मी मगर र बुद्धिबहादुर तामाङ।
एथ्लेटिक्सतर्फ:
सन्तोषी श्रेष्ठ, किरण सिंह बोगटी, गोपीचन्द पार्की।
बक्सिङतर्फः
भुपेन्द्र थापामगर, मिनु गुरुङ र सनिल शाही।
भारोत्तोलनतर्फः
सञ्जु चौधरी र विकास थापा।
ट्रायथलनतर्फ:
सोनी गुरुङ र हिमाल टमाटा।
कुस्तीतर्फ:
संगीता धामी।











प्रतिक्रिया