विद्यालयमा राजनीति नगर्न मुख्यमन्त्री पौडेलको आग्रह  


भरतपुर ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालयभित्र राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

नारायणगढको बालकुमारी माविकोे स्वर्ण महोत्सवमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले विद्यालयभित्र राजनीति नगर्न शिक्षक तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

“ज्ञानको मन्दिर हाताभित्र पसेपछि कुनै पनि शिक्षकलाई राजनीति गर्न छुट छैन”, उहाँले भन्नुभयो”, राजनीति गर्न शिक्षक सङ्गठन निर्माण गरिएको होइन् ।” उहाँले गुणस्तरीय शिक्षाका लागि शिक्षक सङ्गठनहरु स्थापना गरिएको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले सिङ्गो परम्परागत शिक्षालाई बदल्नुपर्ने भएकाले शिक्षक पनि आफूलाई त्यहीअनुरुप विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पढायौँ, पढ्यौँ, प्रमाणपत्र लियौँ तर सिकेनौँ । अब पढाइसँगसँगै सिकाइ पनि हुनुपर्छ, त्यस्तो शिक्षाको शुरुआत प्रदेश सरकारले गरेको छ ।”

सरकारले प्राविधिक शिक्षामा जोड दिँदै प्रदेशका १३ वटा जिल्लाका प्रत्येक स्थानीय तहमा प्राविधिक धारको पढाइ शुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले १० प्रतिशत विद्यालयमा प्राविधिक धारको पढाइ हुन्छ, यसलाई ८० प्रतिशतबाट बढाएर ९० प्रतिशत बनाउनुपर्छ, यसो गर्न सके कोही बेरोजगार भएर विदेश जानु पर्दैन ।” मुख्यमन्त्री पौडेलले दुई वर्षमा प्रदेश सरकारले धेरै काम गरेको दाबी गर्दै एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेको उल्लेख गर्नुभयो ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पौडेलले आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने जिकिर गर्नुभयो । “सरकारले दिएको पैसा ठीकसँग सदुपयोग भएको छ कि छैन त्यसको निगरानी नगरिकले गर्नुपर्छ, सबै ठाउँमा सरकारबाट मात्रै हेर्न सम्भव छैन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।