शैक्षिक गुणस्तरमा निजी विद्यालयको योगदान महत्वपूर्ण: प्रदेश प्रमुख शेरचन 



न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन), कास्कीद्वारा आज आयोजित तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३औँ लोकनृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले सरकार र निजी विद्यालयबीच समस्या समाधान गर्न हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

निजी विद्यालयका समस्यालाई सम्बोधन गर्न सम्बन्धित निकायमा पुर्याउने विश्वास व्यक्त गर्दै उहाँले निजी विद्यालयका समस्यालाई सरकारले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । अहिलेको युग विज्ञानको युग भएको उल्लेख गर्दै उहाँले विद्यार्थीले गरेका सिर्जनाले यहाँका विद्यार्थीले पनि नयाँ आविष्कार गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताउनुभयो ।

नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीलाई वर्तमानका साझेदार र भविष्यका कर्णाधार भन्ने गरिएको बताउँदै एन प्याब्सन कास्कीले उनीहरूको क्षमता प्रस्फुटन गराउँदै साझेदार बनाउने काम गरेको बताउनुभयो । उक्त अवसरमा एन प्याब्सन कास्कीले पोखरा सार्वजनिक पुस्तकालयलाई पुस्तक सहयोग गरेको थियो ।

ʿएन प्याब्सन कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनी यही मङ्सिर २७ गतेसम्म प्रदर्शनी केन्द्र नयाँबजारमा चल्नेछ । प्रदर्शनीमा नेशनल प्याब्सन कास्कीमा आबद्ध ४६वटै विद्यालयका विद्यार्थीले विषयगत विधाका सिर्जनाहरु तयार पारी प्रदर्शन गरेका छन् ।

त्यस्तै मङ्सिर २७ गते लोकनृत्य प्रतियोगिता गरिनेछ । प्रदर्शनी र लोकनृत्यमा उत्कृष्ट हुनेलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गरिनेछ । एन प्याब्सन कास्कीले एक वर्ष खेलकूद महोत्सव र एक वर्ष शैक्षिक प्रदर्शनी तथा लोक नृत्य प्रतियोगिता गर्दै आएको प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिनुभयो.।

प्रतिक्रिया दिनुहोस्