डिफेन्डिङ च्याम्पियन पोर्चुगल छनोट



लन्डन, (एजेन्सी) । 

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले युरोकप २०२० मा स्थान पक्का गरेको छ।
जित्नैपर्ने खेलमा पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २–० गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को उपाविजेताका रुपमा छनोट हुन सफल भएको हो।

छनोटको नजिक रहेको सर्बिया शीर्षस्थानको युक्रेनसँग २–२ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलको छनोट पक्का भएको थियो। पोर्चुगलले ८ खेलबाट १७ अंक जोड्दै दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको युक्रेनको २० अंक रहेको छ। १४ अंक जोडेको सर्बियाको प्ले अफबाट छनोट हुने सम्भावना छ।

लक्जेमवर्गमा आइतबार राति भएको खेलमा पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेज र रोनाल्डोले गोल गरेका थिए। योसँगै रोनाल्डोले आफ्नो ९९औं अन्तर्राष्ट्रिय गोलसमेत पूरा गरेका छन्।

२००३ देखि राष्ट्रिय टोलीमा रहेका रोनाल्डोको यो १ सय ६४ खेलमा ९९औं अन्तर्राष्ट्रिय गोल हो। युरोकपमा स्थान बनाउन घरेलु टोलीलाई दबाबमा राखे पनि पोर्चुगलले गोलका लागि ३९औं मिनेट कुर्नुपरेको थियो।

खेलको ३९औं मिनेटमा बर्नाडो सिल्भाको पासमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। खेल सकिन ४ मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए।

इंग्ल्यान्डको सहज जित

इंग्ल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा सहज जित हात पारेको छ। आइतबार राति भएको खेलमा इंग्ल्यान्डले कोसोभोलाई ४–० गोलअन्तरले सहजै पराजित गरेको हो।

टोलीको जितमा ह्यारी विङ्स, ह्यारी केन, मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे। खेलको ३२औं मिनेटमा ह्यारी विङ्सको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता बनाएको थियो।

पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो। समय सकिन ११ मिनेट बाँकी रहँदा इंग्ल्यान्डले तीन गोल गर्दै फराकिलो जित निकाल्न सफल भयो।

खेलको ७९औं मिनेटमा कप्तान केनले गोल गरे। ८३औं मिनेटमा रासफोर्डले गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–० को अग्रता बनायो। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मासन माउन्टले इंग्ल्यान्डका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि इंग्ल्यान्ड खेलमा ४–० को प्रभावशाली जित निकाल्न सफल भयो।

जितसँगैं इंग्ल्यान्डले ८ खेलबाट २१ अंक जोड्दै समूह ‘ए’ मा शीर्षस्थानमा रह्यो। इंग्ल्यान्डले समूहमा एक खेल मात्रै गुमायो। कोसोभो ११ अंकसहित तेस्रो स्थानमा रह्यो।

चेक रिपब्लिक १५ अंकसहित दोस्रो स्थानमा रहँदा बुल्गेरिया र मोन्टेनेग्रो चौथो र पाँचौ स्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्