बिडीसीए कप क्रिकेट बिहीबारदेखि शुरु हुने 


बैतडी ।
जिल्लामा बिहीबारदेखि ‘बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को १९औँ संस्करण शुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोलीको सहभागीता रहने छ ।

मङ्सिर १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेताले रु ३० हजार तथा उपविजेताले रु २० हजार पुरस्कार प्राप्त गर्ने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु पाँच हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका खेल देहीमाडौँस्थित निङ्गलाशैनी खेल मैदान तथा बुड्डास्थित बुड्डाबाजे क्रिकेट मैदानमा हुने छन् ।

देहमाडौँस्थित निङ्गलाशैनी खेल मैदानमा प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले गर्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतिभाको खोजी गर्न तथा निकट भविष्यमा हुने प्रदेश र राष्ट्रियस्तरका खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष चन्दले बताउनुभयो । सङ्घले २०५८ सालदेखि निरन्तर रुपमा बिडीसीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

गत वर्ष सम्पन्न १८औँ संस्करणको उपाधि कालाशैनी क्रिकेट क्लबले जितेको थियो । फाइनलमा कालाशैनीले निङ्गलाशैनी क्रिकेट क्लब (एनसीसी)लाई नौ रनले पराजित गरेको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।