ईश्वर ! देखाइदेऊ न बाटो



-केशव अधिकारी

जीवनभर जपें नाम राम, कृष्ण भनी
खै हेर्यौ त न्यायी भई मलाई कहिल्यै पनि ?
आफैं हाँसें, आफैं रोएँ साथमा आएनौ त
संसारभरै पुग्छु भन्थ्यौ मैमा छाएनौ त ?

मारिदिन्छ शिशु दूधकै आमा छुटाएर
बलियाले निर्धो मिच्छ शिर फुटाएर।
तिमी हुँदा के हेर्छौ त त्यति हुँदाखेरि
सुनेनौ त शिशु दूध नपाई रुँदाखेरि ?

मानव सारा मेरै सन्तान हुन् पनि भन्छौ
आफ्नो नाम जपी जाने संसार तर्छ भन्छौ।
मैले पनि रातदिन साँझ बिहानहरू
तिमै्र नाम लिई रोएँ खै सुन्यौ त बरु ?

मरेपछि मलाई स्वर्ग केही चाहिँदैन
मेरै देशको उन्नति होस् अरू चाहिँदैन।
तिम्रै अंश शिवजी र पार्वतीको बारी
किन यस्तो कङ्गाल बन्यो भन मलाई खारी।

माटो यहाँको रूखो होइन, मल नपुग्या होइन
मरुभूमि यो देशलाई भन्नै पाइँदैन।
एउटा बीउ बाटामुनि, बाटामाथि खस्छ
मौसम ठीक भएपछि बाली फल्न थाल्छ।

हिमालको अमृतसरी हिम पग्लिएर
नदी बनी तल आए पिएर त हेर।
तिम्रो स्वर्ग यै देशमा छैन भनेदेखि
कता खोज्छौ खोज भगवान नपत्याएदेखि।

आऊ ईश्वर, आऊ तिमी हेर्न यसको माटो
के कारणले दुःखी भयौं देखाइदेऊ न बाटो।
ईश्वर  ! देखाइदेऊ न बाटो।

प्रतिक्रिया दिनुहोस्