चेल्सी विजयी 

0
Shares

लन्डन, (एजेन्सी) ।
इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ। घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसलाई २–० गोलअन्तरले हराएको हो। चेल्सीको जितमा टामी अब्राहम र क्रिस्टियन पुलिसिचले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा टुङीएको उक्त खेलमा चेल्सीले ५२ औं मिनेटमा अब्राहमको गोलमार्फत् अग्रता लिएको थियो। त्यस्तै ७९औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीले २–० को जित हात पार्यो।
शनिबार राति नै भएको अर्को खेलमा आर्सेनल लेस्टर सिटीसँग पराजित भएको छ। घरेलु टोली लेस्टर सिटीले आर्सेनललाई २–० ले पराजित गरेको हो। लेस्टर सिटीको जितमा जेमी भार्डि र माडिसनले गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा भार्डिले ६८ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाए।
त्यसको ७ मिनेट भित्रै माडिसनले गोल गरेका थिए। त्यसैगरी अन्य खेलमा बर्नलेले वेस्ट ह्यामलाई ३–० ले, न्यूक्यासल यूनाइटेडले बाउर्नमाउथलाई २–१ ले हराउँदा इभर्टनले साउथह्यामप्टनमाथि २–१ को जित निकाल्यो। त्यस्तै टोटेनह्याम र शेफील्ड यूनाइटेडले भने १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडे।
शनिबारको खेलपछि इपिएलमा लिभरपुल ३१ अंकसहित तालिकाको शीर्षस्थानमा छ। त्यस्तै समान २६ अंक सहित लेस्टर सिटी र चेल्सी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।